राजनीति

अनिश्चित बागमती प्रदेशसभाको बैठक (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ८ गते १८:१३
अनिश्चित बागमती प्रदेशसभाको बैठक (भिडियो रिपोर्टसहित)

८ फागुन २०७९ मकवानपुर । संसदीय समितिका विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।

प्रदेशको ५ वटै समितिको सभापति पाउनुपर्ने कांग्रेसको अडान र एमाले असहमतिले प्रदेशसभा नै सञ्चालन हुन सकेको छैन भने संसदले बिजनेश पनि पाउन सकेको छैन ।

राष्ट्रपति निर्वाचनले सत्तारुढ दलको समीकरण फेरिने सम्भावना प्रबल छ । केन्द्रदेखि प्रदेश केन्द्रित दलसम्म फागुन १३ गते हुने राष्ट्रपति निर्वाचनको उम्मेदवारको मनोनयनलाई पर्खिरहेका छन् । जसकारण प्रदेशसभा बैठक पनि बस्न सकेका छैनन् । समीकरण फेरिएमा संसदीय दलको नेतृत्व गुमाउने पक्षमा कोही पनि नहुँदा कांग्रेससहित सत्तारुढ दलको अडानले बागमती प्रदेशसभा पनि अनिर्णयको बन्दी बन्न पुगेको छ ।

सरकारलाई विश्वासको मत दिएर पनि सरकारमा सहभागी नभएको कांग्रेसले सबै समितिमा दावी गरेको छ । समितिका सभापति सत्तापक्षले लिँदा मन्त्रीहरुको दबाब रहने भएकाले उपलब्धी नहुने भन्दै कांग्रेसले समितिको नेतृत्व प्रतिपक्ष दललाई दिनुपर्ने बताइरहेको छ ।

तर सत्तापक्ष कुनै पनि हालतमा सबै समितिको नेतृत्व कांग्रेसलाई छाड्न तयार छैन । नेकपा एकीकृत समाजवादी पनि प्रतिपक्ष दल कांग्रेसको पक्षमा उभिएको छ । समाजवादीले पनि संसदीय समितिको समान हकदार भएको भन्दै सम्मानजनक स्थान पाउनुपर्ने माग गर्दै आएको छ ।

प्रदेशसभाको पहिलो कार्यकाल संघीय राजनीतिको कोपभाजनमा पर्यो । ९९ वटा ऐन बनाउने घोषणा भएपनि ४५ वटा मात्रै बन्न सके । अहिले पनि दलहरूकै अर्कमण्यताका कारण बैठक नबस्ने र कानून निर्माण पनि नहुने सम्भावना बढ्दै गएको छ ।

समिति गठन हुन नसक्दा र संसद् बैठक चल्न नसक्दा प्रदेश सरकारले जारी गरेका अध्यादेश निस्क्रिय हुने अवस्थामा छन् । संविधानतः ती अध्यादेशलाई ऐनका रूपमा मान्यता दिन सरकारले सदनमा पेस भएको ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नु पर्छ । तर भागवण्डा नमिल्दा न समितिको टुंगो लागेको छ न त संसद चल्ने नै टुंगो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्