Main News

माओवादी पदाधिकारी बैठक बस्दै

हिमालय टिभी
२०७९ फागुन ८ गते ११:०४
माओवादी पदाधिकारी बैठक बस्दै

८ फागुन २०७९ काठमाडौं । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो । बैठकमा राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । यता नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्न आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा हिजो बालुवाटार पुगेर सहयोगको औपचारिक आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आजको पार्टी पदाधिकारी बैठकमा यसबारे छलफल गरेर निर्णय दिने बताउनुभएको थियो ।

आगामी फागनु २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् । पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको एमाले नेताहरुको दाबी छ ।

एमालेले पुस १० सहमति कार्यान्वयनका अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ । तर कांग्रेसले पनि आफुलाई विश्वासको मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु पर्ने अडानमा प्रधानमन्त्री प्रचण्ड देखिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *