Main News

प्रधानमन्त्री अधिकारको दुरुपयोग गर्दै, सत्तासाझेदार र विपक्षीसमेत मौन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ६ गते २१:००
प्रधानमन्त्री अधिकारको दुरुपयोग गर्दै, सत्तासाझेदार र विपक्षीसमेत मौन (भिडियो रिपोर्टसहित)

६ फागुन २०७९ काठमाडौं । नयाँ सरकार परम्परागत सोच र व्यवहारबाट फरक होस्, सुदृढ र सुविचारित काम गरोस् भन्ने नागरिकको चाहना हुन्छ ।

सरकारमा दोहोरिरहने राजनीतिक अनुहारसँग खास ठूलो आश गर्न नसकिने भए पनि उनीहरु स्वयम्ले चाँहि पुरानो प्रवृत्ति त्याग्लान् भन्ने विश्वास हुन्छ । तर यतिबेला तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नयाँ काममा होइन कार्यकारी अधिकार दुरुपयोगमा केन्द्रित बन्दै जानु भएको छ, सत्ता साझेदार र विपक्षी मौन छन् ।

नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रति आम नेपालीको अटुट सम्मान र सद्भाव छ । तर पृथ्वीजयन्तीमा दिइएको बिदामा अधिकांशले विरोध जनाए । राजसंस्था पुनर्स्थापनाको नारा बोकेको राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने कुरालाई अस्तित्वको विषय बनायो ।

सरकारमा सहभागी हुन राप्रपाले यसैमा बार्गेनिङ गरेपछि पुस २७ गते सरकारले सार्वजनिक बिदा दियो ।

यसअघि २०७४ मा तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीका रुपमा सरकारमा रहेका बेला पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिलाउन सफल हुनु भएको थियो । त्यसयता यसपटक राप्रपा पुनः सरकारमा जान पृथ्वी जयन्तीको बिदालाई हतियार बनायो ।

राप्रपाको माग पूरा गरिदिएका प्रधानमन्त्री प्रचण्डलाई आफ्नै पार्टीको माग पूरा गर्ने अवसर त्यसको एक महिनामै जुर्यो । १७ हजार मानिसको ज्यान जानेगरी भएको सशस्त्र युद्धको सुरुवात भएको दिन फागुन १ गतेलाई माओवादीले जनयुद्ध दिवस भन्दै आएको छ र यस दिनमा पनि सार्वजनिक बिदा दिइयो । सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिइएको यो पहिलो पटक हो ।

पृथ्वी जयन्तीमा दिइएको बिदालाई राजतन्त्रप्रतिको सम्मानका रुपमा र सशस्त्र युद्ध सुरु भएको दिनको बिदालाई त्यही राजतन्त्र फाल्ने सशस्त्र विद्रोहको सम्मानका रुपमा बुझ्ने हो भने अब शान्ति, लोकतन्त्र र परिवर्तनका कुरा गर्नु विरोधाभास सुनिनेछ । त्यसो त प्रधानमन्त्री प्रचण्डकै बोली र काम नै चरम विरोधाभाषका नमूना बनेका छन् । यतिसम्मकी यी बिदाको चरम आलोचना भएपछि प्रचण्ड यो निर्णयबाट पछि हट्नुभएन बरु बिदालाई स्थायित्व दिनेगरी क्यालेन्डरमै समावेश गर्ने निर्णयमा पुग्नुभयो ।

अनियन्त्रित रुपमा दिइने बिदाले सरकारले रटान लगाउने गरेको समृद्धिको नारालाई फाइदा गर्दैन । आम नागरिकको सरोकार यही हो । धेरै बिदा होइन, जनताका काम चाँहि धेरै गर ।

तर राजनीतिक स्वार्थबाट प्रेरित भएर वा सरकार टिकाइराख्ने दबाबमा परेर प्रणालीमाथि नै धावा बोल्ने काम स्वयम् सरकारमा बसेकाहरुबाट भइरहेको छ । देशको प्रधानमन्त्री जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता वा स्वार्थ समूहको मसिहा बन्न खोज्दा यसले उहाँको वजन घटाउँदै जाने निश्चित छ ।

अर्कोतर्फ यी दुबै बिदा वा प्रधानमन्त्री प्रचण्डका अस्वभाविक निर्णयहरुको साक्षी बनिरहेका सत्ता साझेदार नेकपा एमाले लगायतका पार्टी तथा अर्धसत्ताधारी जस्तो देखिने नेपाली कांग्रेसको मौनताले थप निराशा बढाएको छ । यस्ता गतिविधिको विरोध गरे सत्ता गुम्ने एमाले डर र प्रचण्डलाई हातमा लिने योजना तुहिने कांग्रेसको त्रासले व्यथितिलाई थप बल पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *