राजनीति

मधेश प्रदेश : सभामुख र प्रतिपक्षको जुहारी (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ६ गते २०:४८
मधेश प्रदेश : सभामुख र प्रतिपक्षको जुहारी (भिडियो रिपोर्टसहित)

६ फागुन २०७९ धनुषा । मधेश प्रदेशसभाको दोस्रो कार्यकालको सुरुमै सभामुख र प्रमुख प्रतिपक्षीबीचको सम्बन्ध चिसिएको छ ।

प्रमुख प्रतिपक्षीले हरेक विषयलाई प्रतिष्ठासंग जोडेर सभामा उठाउँदा र सभामुख पनि आक्रमक रूपले प्रस्तुत हुँदा सभामुख र प्रतिपक्षको जुहारी दुई दलकै लडाई जस्तो हुन पुगेको छ ।

गत बुधवार बोलाइएको मधेश प्रदेशसभाको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफनो अतिथिलाई मर्यादापालक लगाएर संसदीय दलको बैठकमा प्रवेश गर्न नदिएको भन्दै बैठक अवरुद्व गर्न खोजे । सभामुखले के कति कारणले प्रवेश दिइएन भन्ने विषयमा जवाफ नदिएसम्म बैठक चल्न नदिने कांग्रेसको अडान थियो ।

त्यसपछि सभामुखको प्रतिउतर पनि समान्य थिएन । यो विषय सभामै छिनोफानो गर्ने कि सभामुखको कक्षमा गएर सल्ट्याउने प्रश्न गर्दै सभामुख रामचन्द्र मण्डल पनि आक्रमक हुनुभयो । यहाँ सम्म कि प्रदेशसभामा बम जस्ता शब्दले प्रवेश पायो ।

प्रतिपक्षी कांग्रेस झन् उग्र बन्यो । सभामुखलाई पदीय जिम्मेवारीको पाठ पढाउन थाल्यो ।

तर, खासमा विवादको विषय भने बैँक खाता हो । यसअघि सांसदको खाता एनएमबी बैंकको जनकपुर ब्रान्चमा खोलिएको थियो । यो पटक पनि सोही बैँकमा खाता खोल्ने सहमति भएको थियो । तर, कांग्रेसले भने नेपाल इन्भेष्टमेन्ट बैँकमा खाता खोल्ने दबाब दिएको विषयलाई लिएर प्रदेशसभामा विवाद झिकिएको सभामुखको दावी छ ।

यता, नेपाली कांग्रेसले भने बैंक खाताका लागि बखेडा झिकेको स्वीकार नगरेपनि अहिले भने सबै विषय समाधान भएको दावी गरेको छ ।

सांसदले सहजताका हिसाबले आफु खुसी कुनै पनि बैंकमा खाता खोल्न सक्ने सहमति भएपछि विवाद समाधान भएको छ । प्रतिपक्षीले जनताको भन्दा पनि आफनो प्रतिष्ठासंग जोडिएको कुनै पनि विषय सभामा ल्याएर सभानै अवरुद्व गर्ने गलत परम्पराको सुरुवात गरेको छ । पछिल्लो घटनाहरुले सत्ताधारी दल भन्दा पनि प्रतिपक्षी र सभामुखकै बिचमा तारतम्य नमिलिरहेको संकेत गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्