राजनीति

रास्वपालाई आफ्नै सांसदको डर किन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ३ गते २१:१४
रास्वपालाई आफ्नै सांसदको डर किन ? (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार १६ जना केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गर्यो । केन्द्रीय सदस्यमा विभिन्न विवादित छबि भएका व्यक्तिसमेत समेटिए । तर निर्वाचन जितेर आएका सांसद भने नेतृत्वको नजरमा योग्य ठहरिएनन्। रास्वपाको केन्द्रीय समितिमा निर्वाचित सांसदहरु किन अटाएनन् त ?

राष्ट्रिय स्वतन्त्र पार्टीले २४ सदस्यीय केन्द्रीय समितिमा १६ जना थप गर्दै ४० जना पुर्‍यायो । गएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय समितिबाट सभापति रवि लामिछाने, केन्द्रीय सदस्य सोविता गौतम र गणेश पराजुली प्रत्यक्ष निर्वाचित हुनुभयो ।

उपसभापति डोलप्रसाल अर्याल र केन्द्रीय सदस्य सुमना श्रेष्ठ समानुपातिकतर्फबाट सांसद बन्नुभयो । अर्थात् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपाका २० सांसदमध्ये ५ जना केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्य छन्। सोमबार बसेको रास्वपा बैठकले केही पूर्व पत्रकार, केही व्यवसायी र अन्य पार्टीबाट आएका सहित १६ जनालाई केन्द्रीय समितिमा स्थान दियो ।

केन्द्रीय समिति विस्तार गर्दा रास्वपामा प्रभावशाली देखिएका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, पार्टीका तर्फबाट मन्त्री नै भइसकेका शिशिर खनाल, राज्यमन्त्री बनेकी तोसिमा कार्की तथा सांसद हरि ढकाल केन्द्रीय समितिमा अटाएनन् ।

उसो त प्रमुख सचेतक सन्तोष परियार, समानुपातिक सांसदहरु मनिष झा, असिम शाह, लक्ष्मी तिवारी, चन्दा कार्की, निशा डाँगी, अशोककुमार चौधरी, शिव नेपाली, विनिता कठायत र ढाकाराम श्रेष्ठको नामसमेत केन्द्रीय समिति समेटिएन। नयाँ पार्टी भएकाले रास्वपाको यतिबेलाको प्रमुख सम्पत्ति भनेकै सांसदहरु हुन् । तर उनीहरुलाई नै किन समेटिएन त केन्द्रीय समितिमा रु

सभापति लामिछानेको पछिल्लो पत्रकार सम्मेलन र सरकारबाट फिर्ता हुने निर्णयमा कतिपय सांसद र नेताहरु असन्तुष्ट देखिन्छन् । सोही कारण प्रभावशाली सांसदलाई केन्द्रीय समितिमा लैजाँदा कतै पार्टी विभाजन हुने होकी भन्ने त्रासमा रास्वपा नेतृत्व देखिन्छ ।

कुनै पनि दल विभाजनका लागि केन्द्रीय समितिमा ४० र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपर्ने कानुनी प्रावधान छ । यही संशयले पार्टी सभापति लामिछानेले आफ्ना अत्यन्तै निकटका विश्वास पात्रहरूलाई केन्द्रीय समितिमा चयन गरेको आशंका स्वतन्त्र पार्टीका केही असन्तुष्ट नेताहरुको छ ।

प्रत्यक्ष र समानुपातिकसहित प्रतिनिधिसभामा २० सांसद रहेको रास्वपामा सभापति लामिछाने पदमुक्त भएको र अर्की सांसद इन्दिरा रानामगर उपसभामुख भएका कारण हाल १८ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्