Main News

अनिश्चित यात्रामा ज्ञानेन्द्र शाह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २ गते २०:५१
अनिश्चित यात्रामा ज्ञानेन्द्र शाह (भिडियो रिपोर्टसहित)

२ फागुन २०७९ काठमाडौं । दुई सय ४० वर्षे राजतन्त्रको अन्तिम राजा ज्ञानेन्द्र शाह अहिले पूर्व राजाका हैसियतमा सामाजिक कार्यहरुमा संलग्न हुने गर्नुभएको छ ।

२०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डपछि राजा बन्ने अवसर पाएका ज्ञानेन्द्रले पटक पटक प्रयोग गरेका पात्रहरुका कारण उहाँ आलोचित हुँदै आउनुभएको छ । अहिले पनि असफल शासकको ट्याग मेटाउन फेरि विवादित पात्र नै रोज्न पुग्दा उहाँको आगामी यात्रा पनि सुखद देखिँदैन ।

पूर्वराजा ज्ञानेन्द्र शाहले के के गरे ?
प्रत्यक्ष शासन– २०५९ असोज १० देखि असोज २५ गतेसम्म
प्रत्यक्ष शासन– २०६१ माघ १९ देखि २०६३ वैशाख १२ (अध्यक्ष)
उपाध्यक्षहरु–
डा तुल्सी गिरी– उपाध्यक्ष– भूमिसुधार तथा जलस्रोत
कीर्तिनिधि विष्ट– उपाध्यक्ष– भौतिक योजना तथा निर्माण
राजतन्त्रको अन्त्य– २०६५ जेठ १५ गते

२०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २३९ वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र कार्यान्वयन गर्ने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५६० र विपक्षमा ४ मत परेको थियो। २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डपछि नेपालको राजगद्दी सम्हाल्ने अवसर पाएका ज्ञानेन्द्रले छोटो समयमा गरेका विवादित निर्णयले शासन सत्ता मात्रै ढलेन नेपालमा राजतन्त्र इतिहास नै बन्यो ।

तत्कालीन राजा असफल हुनुमा उहाँका नीति र उनले साथमा लिएका व्यक्ति नै प्रमुख कारण बनेका छन् । अझ पछिल्लो समय राजतन्त्र पुनर्वहालीको बहसमा व्यक्तिको पछाडि दौडन थालेका शाह प्राय विवादित व्यक्तिको वरिपरि घुमेको देखिन्छ ।

ककसलाई बनाए ज्ञानेन्द्रले सारथि ?
तुल्सी गिरी

तत्कालीन राजा ज्ञानेन्द्रले मात्रै होइन उनका पिता राजा महेन्द्रले २०१७ सालमै शासन हातमा लिएपछि तुल्सी गिरीलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएका थिए । २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि मुलुक छाडेर श्रीलंका पुगेका गिरी २०६१ साल माघ १९ पछि ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि मात्रै नेपाल फर्किनुभयो । गिरीलाई राजा ज्ञानेन्द्रले आफ्नो मन्त्रिपरिषदमा उपाध्यक्ष बनाउनुभयो । राजनीतिक सहयात्री बनाइएका गिरीबाट ज्ञानेन्द्रको रणनीति सफल हुन सकेन ।

कीर्तिनिधि विष्ट
२०६१ साल माघ १९ मा गठित शाही मन्त्रिपरिषदमा उपाध्यक्ष रहेका कीर्तिनिधि विष्ट पनि राजा महेन्द्र र ज्ञानेन्द्र दुवैले विश्वास गरेका पात्र हुन् । २०२५ सालमा राजा महेन्द्रले विष्टलाई पहिलोपटक प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । २०६१ माघ १९ को शाही कदमपछि राजा ज्ञानेन्द्रको राजनीतिक कदमलाई सफल बनाउने अभियानमा विष्ट पनि असफल बन्नुभयो ।

लोकेन्द्रबहादुर चन्द
तत्कालीन राजा ज्ञानेन्द्रले आफुलाई सफल पार्नका लागि लोकेन्द्रबहादुर चन्दलाई २०५९ असोज २५ मा प्रधानमन्त्री बनाउनुभयो । तर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन चन्द पनि असफल हुनुभयो ।

सूर्यबहादुर थापा
तत्कालीन चन्द सरकारले सफलता प्राप्त गर्न नसकेपछि ज्ञानेन्द्रले सूर्यबहादुर थापालाई २०६० जेठ २२ मा प्रधानमन्त्री बनाए । तर तत्कालीन सात राजनीतिक दलको आन्दोलन र माओवादीसँगको वार्ता असफलतापछि थापालाई पनि प्रधानमन्त्रीबाट हटाइयो ।

कमल थापा
सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीबीच १२ बुँदे सहमति भएपछि राजा ज्ञानेन्द्रले मन्त्रिमण्डल फेरबदल गर्दै २०६२ मंसिर २२ मा कमल थापालाई गृहमन्त्री बनाइयो । शाही शासनको निरन्तरताका लागि आन्दोलन दबाउने मुख्य पात्रका रुपमा थापाले काम गरे पनि त्यो सफल हुन सकेन ।

थापाको कदमले जनआन्दोलन उत्कर्षमा मात्रै पुगेन राजतन्त्र अन्त्यका लागि भूमिका नै खेल्यो । जनआन्दोलनका दोषी ठहर भएपनि गणतन्त्र स्थापनापछि पनि सबैभन्दा बढी लाभ लिने शाही मन्त्री थापा हाल गणतन्त्रका हिमायती बन्नुभएको छ । उहाँले ज्ञानेन्द्रमाथि विभिन्न आरोप लगाउन थाल्नुभएको छ । तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्रले बद्रीप्रसाद मण्डल, रमेशनाथ पाण्डे, राधाकृष्ण मैनाली, प्रकाश कोइराला, टंक ढकाल लगायतका नेतालाई प्रयोग गरेको देखिन्छ ।

दुर्गा प्रसाईं
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका दुर्गा प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै सुरु गरेको अभियानको उद्घाटन सोमबार पूर्वराजा ज्ञानेन्द्र शाहले गर्नुभयो। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ भन्दै प्रसाईंले व्यक्तिगत रुपमा सुरु गरेको यो अभियानमा पूर्वराजाको परिवार नै सहभागी बन्यो ।

राप्रपाले राजतन्त्रको वकालत गरिरहेका बेला एमाले केन्द्रीय सदस्यले थालेको अभियानमा शाह परिवार पुग्नुलाई अर्को प्रयोगका रुपमा हेरिएको छ । असफल अभ्यासमा निरन्तर लागेका ज्ञानेन्द्रलाई जीवनको उत्तरार्द्धमा प्रसाईंको अभियानले कति सहज बनाउने हो हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *