राजनीति

युवा नेता : जनअपेक्षाको भद्दा मजाक !(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २५ गते २०:४७
युवा नेता : जनअपेक्षाको भद्दा मजाक !(भिडियो रिपोर्टसहित)

२५ माघ २०७९ काठमाडौं । दलीय राजनीतिको साढे सात दशक पूरा हुँदा दलका नेताहरुको मतिलाई पनि साढे सातकै शनी लागेको प्रतित हुन्छ ।आफु मात्र ठीक र अरु बेठीक भन्ने प्रतिष्पर्धामा होमिएका राजनीतिक दल र तीनका नेताले राजनीतिमा इमान्दारी, सच्चाइ र नैतिकता पनि हुन्छ भन्ने बिर्सँदा आजको अबश्था सृजना भएको हो ।

पुराना र ठुला राजनीतिक दलदेखि नयाँ र बैकल्पिक भनिने राजनीतिक दलहरुले सृजना र रचनामा भन्दा जनअपेक्षाको भद्धा मजाकमात्र बनाएका छैनन् कानुनी राजको समेत खिल्ली उडाएका छन् ।

लोकतन्त्रमा बोल्न र लेख्न पाइन्छ अनि आलोचना गर्न पनि पाइन्छ । तर आफूले गरेको सबै ठीक र अरु सबै बेठीक ठान्ने नेपाली भिड राजनीतिले समाज आक्रान्त छ। सत्य बोल्न र आलोचना गर्न डराउनुपर्ने अवस्था कदापि लोकतन्त्र हुन सक्तैन । अरुलाई चोर औला देखाउँदा आफूतिर बाँकी औला फर्कन्छ भन्ने यथार्थ भुल्ने र आलोचना गर्नेजति सबै बेबकुफ भन्ने हिटलरी मानसिकताले लोकतन्त्रको हिफाजत गर्छ र ?

पुराना राजनीतिक दलहरुबाट वाक्क भएर गरेको मतदान पनि सत्ताको मोलमोलाइ र व्यक्तिगत लेनदेनमा थिग्रिएको मात्र छैन, जगहँसाइको दृष्टान्त बनेको छ । नयाँहरुबाट गरिएको अपेक्षा अरुलाई धारे हात लगाउने र छिर्के लडाउने अनि आफूलाई भिडको समर्थनको भ्रममा कानुनमाथि देखाउने प्रयासमा रुपान्तरण भएको छ।

दलरुमा सकिँदै गएको लोकतान्त्रिक चरित्र र अभ्यासका कारण समाजमा केही बेरका लागि नकारात्मक फसल भित्राउने प्रतिष्पर्धा चलेको छ। सामाजिक संजालमा नक्कली प्रयोगकर्ता खडा गरेर अरुको चरित्रहत्या गर्नेदेखि आफ्नो समर्थन जुटाउने प्रयास भएको छ। यो समस्या विगत बीस बर्षदेखि विस्तार भएर गएको छ। एक समय माओवादीको बिरोध गर्दा भौतिक आक्रमणमा उत्रुँलाजस्तो गर्ने प्रवृत्ति अहिले रास्वपा या केही पात्र र प्रवृत्तिको नाममा नग्न प्रस्तुतीमा भद्दा मजाक गरिरहेको छ।

आज अरुका लागि प्रयोग भएको धारिलो हतियार मिलाएर राख्न नजान्दा भोली आफ्नै औला छिनाल्छ भन्ने नबुझेका या बुझ्न नचाहनेहरुले संचारमाध्यमलाई समेत निसाना साँधेका छन् ।

आफ्ना पक्षमा लेखे या आलोचना नगरे वाह भन्नेले आलोचना सहने लोकतन्त्रको सुन्दरताको समेत खिल्ली उडाएका छन् । हिजो लोकतान्त्रिक आन्दोलन ताका बरालिएर स्वदेशमा या विदेशमा बसेका मस्तरामले मात्र होइन निरंकुशतन्त्र फाल्न संचारमाध्यमको पुच्छर समातेर बैतरणी तरेकाले समेत खोलो तरेपछि लौरो बिर्सेका छन् ।

बाबु फाल्ने डोकोको कथा पढेर बिर्सेका या पढ्ने बेला बरालिएकाबाट आजको राजनीति बिदु्रप भएको छ । युवा भनिएका र आशा गरिएका राजनीतिक खेलाडिले समेत बिगतकै म्याद सकिएका नेतालाई माथ खुवाएका छन् । यसको बेलैमा निराकरण नगरे राजनीतिप्रतिको वितृष्णा र मुलुक अधोगतिमा चिप्लिने क्रम रोकिनेछैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्