राजनीति

उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावलको पद संकटमा (भिडियो रिपोर्टसहित)

२०७९ माघ २५ गते २०:२१
उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावलको पद संकटमा (भिडियो रिपोर्टसहित)

२५ माघ २०७९ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल निकै कठिन समयबाट गुज्रिरहेका छन् । मुख्यमन्त्री नियुक्त भइसक्दा पनि अहिलेसम्म ढुक्क हुन सकेका छैनन् ।

नागरिक उनमुक्ति पार्टीले विश्वासको मत दिन आनाकानी गरिरहँदा रावलको पद संकटमा छ । भोलिसम्म विश्वासको मत नपाए रावल पदमुक्त हुनेछन् । त्यसैले जसरी भएपनि उन्मुक्तिलाई सहमतिमा ल्याउन आजको प्रदेशसभा बैठक नै स्थगित भएको छ ।

सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा राजेन्द्रसिंह रावल नेतृत्वको सरकार संकटमा देखिएको छ । पुस २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको प्रदेशमा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको थियो । अहिलेसम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि नागरिक उन्मुक्ति अझै अनिर्णित छ । नागरिक लाई फकाउँने अन्तिम प्रयास जारी रहेको सत्ता गठबन्धनले जनाएको छ ।

नागरिक उन्मुक्तिका सबै सांसद अहिले काठमाडौंमा छन् । आज विश्वासको मत लिने भनेपनि उन्मुक्तिका सांसद धनगढी पुगेका छैनन् । त्यसैले प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

यदि रावलले भोलि विश्वासको मत नलिएमा वा नपाएमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

मुख्यमन्त्री नियुक्त भएपछि नयाँ मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ । अहिले नेपाली कांग्रेस मुख्यमन्त्री आफूले प्राप्त गर्नेमा ढुक्क छ । त्यसपछि विश्वासको मत लिएर सरकार सञ्चालन गर्न सक्ने दावी गर्न थालेको छ ।

तर, यदि मत प्राप्त गर्न नसके धारा १६८ कै उपधारा ५ बमोजिम कुनै एक प्रदेशसभा सदस्यलाई विश्वासको मत लिनसक्ने अवस्था भएमा मुख्यमन्त्री नियुक्त गरिनेछ । तर, मत नपाएको खण्डमा उपधारा ७ बमोजिम प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरेर ६ महिनाभित्र अर्को निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्ने व्यवस्था गरिएको छ । त्यसैले कांग्रेसलाई सत्ता सुम्पिन नदिन रावल दत्तचित्त भएर लाग्नुभएको छ । तर, भोलिसम्ममा घटनाक्रमले नयाँ रूप लिनेमा सत्तारुढ दल आशावादी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्