Main News

कहाँ पुग्यो रविको राहदानी अनुसन्धान ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २३ गते २१:१४
कहाँ पुग्यो रविको राहदानी अनुसन्धान ?  (भिडियो रिपोर्टसहित)

२३ माघ २०७९ काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुरानो नागरिकता अवैध भएको छ ।

सोही नागरिकता प्रयोग गरेर बनाएको राहदानी पनि प्रहरी अनुसन्धानको दायरामा पुगेको छ । तर फैसलाको पूर्णपाठ अझै आइनसकेकाले प्रहरीको अनुसन्धानमा केही ढिलाई भएको बताइएको छ ।

रास्वपाका सभापति रवि लामिछाने अमेरिकाबाट फर्किएपछि नेपालको नागरिकता सम्बन्धी पुर्नप्राप्तीको प्रक्रिया नथालि पुरानै नागरिकता प्रयोग गर्नुभएको थियो । यही नागरिकता प्रयोग गरेर सन् २०१५ मा नेपाली राहदानी लिनुभएको थियो । तर, उहाँले अमेरिकाको राहदानी सन् २०१८ मा मात्र फिर्ता गरेको देखिन आएको छ । यही विवादका कारण उहाँ अहिले समस्यामा पर्नुभएको छ ।

उहाँसँग दोहोरो राहदानी रहेको कसुरमा प्रहरीले अनुसन्धान जारी राखेको छ । लामिछानेले पनि आफूले पुरानै नागरिकता अनुसार राहादानी लिएको स्वीकार गर्दै सर्वोच्चको फैसलाको भोलिपल्टै राहदानी विभाग पुगेर फिर्ता पनि गर्नुभयो । नागरिकतामा कैफियत देखिनासाथै राहादानी पनि स्वतः बदर हुने व्यवस्था रहेपनि सर्वोच्चको पूर्णपाठ आइनसकेकाले लामिछानेको राहदानी बदर नगरी यसै राखिएको छ ।

सर्वोच्च अदालतको फैसला र लामिछानेको स्वीकारोक्तिपछि लामिछानेले प्रक्रिया पुरा नगरी राहदानी लिएर विभिन्न देशमा पुगेको तथ्य प्रमाणित भइसकेको छ । तर लामिछानेले आफूले प्रक्रिया पुरा नगरेपनि नागरिकता र राहदानीको दुरुपयोग नगरेको दाबी गर्दै आउनु भएको छ ।

लामिछानेले राहदानीको दुरुपयोग नगरेको दाबी गरेपनि प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । फैसलाको पूर्णपाठ नआएका कारण अनुसन्धानमा केही ढिलाई भइरहेको प्रहरी बताउँछ ।

प्रक्रिया पुरा नगरेको भन्दै पूर्णपाठमा अदालतले के के आदेश दिन्छ र के कस्तो कारबाही अघि बढाउनु पर्ने निर्देश गर्छ । पूर्णपाठ आएपछि मात्रै स्पष्ट हुने भएकाले प्रहरी अनुसन्धानका लागि पूर्णपाठ महत्वपूर्ण भएको जानकारको भनाइ छ ।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आइनसकेको र लामिछानेका विरुद्ध दोहोरो राहदानीको बिषयमा पनि अनुसन्धान जारी रहेको कारण देखाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई पुनः गृहमन्त्री नियुक्त गर्न अस्वीकार गर्नु भएको थियो । लामिछानेले गृहमन्त्रालय नपाएपछि उहाँको पार्टी रास्वपा सरकारबाट नै बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *