Main News

कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने, अर्याल निर्विरोध हुन सक्ने

हिमालय टिभी
२०७९ माघ २२ गते १३:४८
कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने, अर्याल निर्विरोध हुन सक्ने

२२ माघ २०७९ काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णयमा पुगिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो । यो सँगै राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने देखिएको छ ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अर्याललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना एमालेबाट भएकाले उपाध्यक्षमा माओवादीलाई सघाउने एमालेले जनाएको छ ।

दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । सवा चार बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने कार्यक्रम छ । राष्ट्रियसभाको भोलि १२ बजे बस्ने बैठकमा ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *