Main News

पोखरा विमानस्थल, सेतो हात्ती बन्ने खतरा (भिडियो रिपोर्टसहित)

२०७९ माघ १८ गते २१:०८
पोखरा विमानस्थल, सेतो हात्ती बन्ने खतरा (भिडियो रिपोर्टसहित)

१८ माघ २०७९ कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउने योजना नभएपनि पोखरा आउने पर्यटकले विमानस्थल र पोखराको पर्यटन व्यवसाय फस्टाउने अपेक्षा थियो ।

तर, माघ १ गते पोखराको सेती खोंचमा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि पर्यटन क्षेत्र सुस्ताएको छ । हवाई माध्यमबाट आउने पर्यटक घट्दा विमानस्थलका कर्मचारी फुर्सदिला बन्दा पर्यटन व्यवसायीलाई भने लगानी डुब्ने चिन्ताले सताएको छ ।

कोरोना महामारीपछि पोखराको पर्यटन व्यवसाय पुरानै लयमा फर्कने क्रममा थियो । कोरोना महामारीपछि पर्यटन बजार आन्तरिक पर्यटकले धानेको थियो । विदेशी पर्यटक आउने क्रम पनि विस्तारै बढ्दै जाँदा अंग्रेजी नयाँ वर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो ।

मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा पर्यटन बजारले फड्को मार्ने दावी गरिरहँदा माघ १ गते यति एयरको विमान दुर्घटना भयो । दुर्घटनापछि अहिले पर्यटक पोखरा जान चाहँदैनन् । पर्यटक घुम्नका लागि आउन डराएपछि लेकसाइडका गल्ली, सडक र होटेल सुनसान जस्तो बनेको छ । ८ महिना यता पोखरा विमानस्थल केन्द्रित दुई वटा दुर्घटनाले पोखराको पर्यटन क्षेत्र नराम्रोसंग प्रभावित भएको हो ।

पोखराको पर्यटन अहिले लकडाउन जस्तो भएको छ । पटक पटक समस्या दोहोरिँदा पर्यटन क्षेत्रमा भएको ५ अर्ब बढीको लागानी जोखिममा पुगेको छ ।

केही समययता सडक विस्तारका कारण पोखरा आउने स्थलमार्ग पनि अप्ठेरो भएकाले धेरैले हवाई माध्यम रोजेका थिए । तर विमान दुर्घटनापछि नराम्रो सन्देश गएको छ । विमान दुर्घटनाबारे फैलिएका अफवाहले यात्रुले यात्रा रद्द गरेका छन् ।

पोखरामा भएको हवाई दुर्घटनालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि फरकफरक तरिकाले व्याख्या गरियो। जसले गर्दा यहाँ आउन चाहेका पाहुना पनि त्रसित बनेका छन् । यो अवस्थाको अन्त्य कहिले होला भन्ने टुंगो नभएपनि सरकारले पर्यटक आकर्षित गर्न योजना बनाउनुपर्ने व्यवसायीको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *