Main News

नेकपा माओवादी केन्द्र : नाम फेर्ने दलको रेकर्ड (भिडियो रिपोर्टसहित)

२०७९ माघ १७ गते २१:०९
नेकपा माओवादी केन्द्र : नाम फेर्ने दलको रेकर्ड (भिडियो रिपोर्टसहित)

१७ माघ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली राजनीतिक इतिहासमा दलको नाम फेर्ने रेकर्ड नै बनाएको छ । नेकपा मशालबाट सुरु भएको हालको माओवादी केन्द्रले आफ्नो इतिहासमा ६ पटक नाम फेरिसकेको छ ।

विभिन्न कम्युनिष्ट घटकसँगको एकता र विभाजनसँगै माओवादी केन्द्रले नाम फेर्दै आएको हो । अहिले पनि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीसँग एकताको अन्तिम चरणमा रहेको माओवादी केन्द्रले नाम फेर्ने तयारी गरेको छ ।

माओवादी सशस्त्र द्वन्द्व सुरु हुनुअघि पुष्पकमल दाहाल प्रचण्डसँग जोडिएका बाबुराम भट्टराई ७ वर्षपछि पुनः प्रचण्डसँगै आइपुग्नुभएको छ । अर्थात भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने करिब–करिब निश्चित भएकोछ । तर, पार्टी एकताका लागि भट्टराईले माओवादी केन्द्रले नाम परिवर्तन गर्नुपर्ने शर्त राख्नुभएको छ ।

त्यो शर्त मान्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार हुनुभएको बुझिएको छ । अब माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता भएपनि दलको नाम नेकपा समाजवादी राख्ने सहमति नजिक रहेको नेताहरुले नै बताएका छन् ।

भट्टराई १० वर्षीय सशस्त्र द्वन्द्वताका माओवादीको प्रमुख नेता हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेकपा माओवादीबाटै देशको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । पछि पार्टी अध्यक्षसंग बिचार नमिलेपछि उहाँले पार्टी परित्याग गर्नु भयो र नयाँ शक्ति पार्टीको स्थापना गर्नु भयो ।

अहिले भट्टराई पुनः माओवादी केन्द्रसँगै एकताका लागि तयारी अवस्थामा हुनुहुन्छ । तर, माओवादी केन्द्रको नाम फेर्नुपर्ने उहाँको शर्त छ, त्यसका लागि प्रचण्ड तयार देखिनुभएको छ । आलोचक भने माओवादी केन्द्रका नेताहरुले नाम फेर्नुको कारण इतिहासबाट भाग्न खोजेको आरोप लगाउँछन् । माओवादीकै पूर्व नेता गोपाल किरातीले हिजोको विचार, राजनीतिक उद्देश्य सबै त्यागेकाले पार्टीको नामको खासै अर्थ नहुने बताउँनुहुन्छ ।

माओवादी केन्द्र– विगतदेखि वर्तमान
विक्रम संवत् २०४२– मोहनविक्रम सिंहद्वारा नेकपा ९मशाल० गठन
विक्रम संवत् २०४५– नेकपा ९मशाल०को महामन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित
विक्रम संवत् २०४६– नेकपा मोटो मशाल, नेकपा पातलो मसाल, सर्वहारा श्रमिक संगठन र नेकपा चौथो मसालबीच जनआन्दोलन संयोजन समिति गठन
विक्रम संवत् २०४७– चार पार्टीबीचको एकतापछि नेकपा एकता केन्द्र गठन
विक्रम संवत् २०४८– एकता महाधिवेशन र प्रचण्डको दीर्घकाली ‘जनयुद्ध’को प्रस्ताव पास
विक्रम संवत् २०५१– एकता केन्द्रको नाम परिवर्तन गर्दै नेकपा माओवादी गठन
विक्रम संवत् २०६५–नेकपा एकता केन्द्र मसाल र माओवादीबीच एकतापछि एकीकृत माओवादी नामाकरण
विक्रम संवत् २०७३– क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट, नेकपा माओवादी र तिलक परियारको समूहसँग एकतापछि माओवादी केन्द्र नामकरण
विक्रम संवत् २०७४– एमाले र माओवादी केन्द्रबीच एकतापछि नेकपा नामकरण
विक्रम संवत् २०७८– एमालेसँगको एकता भंगपछि पुनः माओवादी केन्द्र व्यूँतियो

अहिले पुनः बाबुराम भट्टराईको नेपाल समाजवादीसँग एकताका लागि माओवादी केन्द्र नाम फेर्न सहमति नजिक पुगेको छ । सशस्त्र द्वन्द्वपछि माओवादी नै हटाउन उ तयार बनेको छ ।

यसरी हेर्दा पार्टी स्थापनादेखि नै विभिन्न आरोह अवरोध झेल्दै आएको माओवादी केन्द्रको नाम विभिन्न समयमा परिवर्तन हुँदै आएको छ । कहिले एकताको नाममा त कहिले पार्टीलाई नयाँ ढंगले अघि बढाउने नाममा पार्टीको नाम फेरिँदै आइएको छ । पटक पटक नाम परिवर्तन गरिरहँदा पार्टीका नेताहरुलाई नामले के फरक पार्ने रहेछ भनेर प्रश्न पनि उठ्ने गरेको छ । माओवादी कै नाममा अहिले पनि अनेकौं साना दल पनि अस्तित्वमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *