राजनीति

कांग्रेस बैठक : किन टार्न खोज्दैछन् देउवा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १३ गते २१:२३
कांग्रेस बैठक : किन टार्न खोज्दैछन् देउवा ? (भिडियो रिपोर्टसहित)

१३ माघ २०७९ काठमाडौं । विधानतः दुई दुई महिनामा बस्नुपर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक नबसेको ६ महिना भइसक्यो । असार २७ पछि कांग्रेसको शक्तिशाली समितिको बैठक बस्न सकेको छैन ।

अझ सत्ता गुमाइसकेपछि तीन(तीन पटक केन्द्रीय कार्यसमिति बैठक स्थगित हुँदा सभापति देउवामाथि छलफल छल्न खोजेको आरोप लागेको छ ।

कांग्रेस केन्द्रीय समितिको पछिल्लो बैठक असार २७ मा बसेको थियो । त्यसो त केन्द्रीय सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्न भदौ ५ गते आकस्मिक बैठक बसेपनि त्यसलाई नीतिगत मानिन्न । त्यसयता केन्द्रीय कार्यसमितिको बैठक बसेको छैन । तर पटक पटक मिति तय गर्ने र स्थगित गर्ने शिलशिला भने चलिरहेको छ ।

–पुस २२ का लागि बोलाइएको बैठक २८ ला सारियो
–पुस २८ का लागि सारेको बैठक माघ १५ सम्म स्थगित
–माघ १५ का लागि तय बैठक अनिश्चित

भागवण्डाको विषयमा सहमति नहुँदा अप्रत्यासित रुपमा सत्ता गुमेपछि कांग्रेसभित्र संस्थापन र इतरपक्षबीच आरोपप्रत्यारोप चलिरहेको छ ।
यो बीचमा पटक(पटक मिति तोकेर पनि बस्न नसकेको केन्द्रीय कार्यसमिति बैठक विशेष कारणवश भन्दै अर्को पटक स्थगित गरिँदा सभापति शेरबहादुर देउवामाथि बैठक छल्न खोजेको आरोप लागेको छ । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा संसदीय दलमा असन्तुष्टि जनाए पनि संसदमा लुरुक्क पक्षमा उभिएको इतरसमूह पनि देउवाको अर्घेल्याइँबारे खुलेर बोल्न सक्दैन ।

सत्ता गुमाइसकेपछिको अवस्था, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको कारणबारे केन्द्रीय सदस्यले उठाउने प्रश्न र आउनसक्ने सम्भावित आलोचनाबाट बच्न देउवाले राष्ट्रपति निर्वाचनको बहानामा बैठक सारिरहनु भएको छ ।

गत पुस १० मा एमालेसँगको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै कांग्रेसले सम्भावित सत्ताका सबै अवसर गुमायो । त्यसपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको उपलब्धिसमेत केही हुन सकेको छैन । त्यसैले देउवाले केन्द्रीय बैठकमा आलोचनाको स्वर सुन्नुपर्ने निश्चित छ ।

देउवामा देखिएको डर
१. सत्ता गठबन्धन जोगाउन नसकेको अपजस खेप्नुपर्ने
२. प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको कारणबारे जवाफ दिनुपर्ने
३. प्रदेशमा देखाएको अलमलको जवाफ दिनुपर्ने
४. धोका दिएका प्रचण्डकै पक्षमा उभिरहनुको कारणको जवाफ दिनुपर्ने
५. भ्रातृ संस्थाको भद्रगोलबारे जवाफ दिनुपर्ने

देउवाले राष्ट्रपतिबारे हालको सत्ता गठकबन्धनमा खेल्ने र त्यसको लाभ लिएर पार्टीभित्र आफ्नो क्षति न्युनीकरणको रणनीति लिए पनि परिस्थिति देउवा अनुकुल हुने देखिँदैन । तर केन्द्रीय कार्य समिति बैठकबाट भागिरहने कुराले भने देउवा र समग्र कांग्रेसलाई पुग्ने क्षति भने अवस्य बढ्ने प्रष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्