Main News

कही नभएको जात्रा..! जहाँ पक्की सडकको बीचमा ठडिएका छन् विद्युतका पोल (भिडियो रिपोर्टसहित)

२०७९ माघ ११ गते १६:३४
कही नभएको जात्रा..! जहाँ पक्की सडकको बीचमा ठडिएका छन् विद्युतका पोल (भिडियो रिपोर्टसहित)

११ माघ २०७९ काठमाडौं । ‘कही नभएको जात्रा हाँडी गाउँमा’ भनेझैं विकास निर्माणमा कतिसम्म सरकारी उदासिनता हावी हुन्छ भन्ने कुरा हेटौँडा उपमहानगरपालिकामा उदांगिएको छ ।

उपमहानगरपालिकाका विभिन्न वडामा बनेको भित्री सडकले विकासमा हुने सरकारी उदासिनतालाई प्रष्ट्याएको छ । पक्की गरिएको सडकको बीच भागमा विद्युतका पोल ठडिएका छन् । यसले सरकारी कार्यालयबीच विकास निर्माणका काममा समन्वय हुँदै भन्ने कुरालाई छर्लङ्ग भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर २ मा विद्युतको पोल नसारी स्ल्याब ढलान गरिएको छ । यसरी विद्युत पोल राखेर स्ल्याब ढलान गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

हेटौँडा–९ स्थित धापटोलबाट मानवसेवा आश्रम जाने बाटोमा २ वटा बिजुलीको पोल पर्ने भएपछि सडक निर्माण उपभोक्ता समितिले डिभाइडर राखेर स्ल्याब ढलान गरेको छ । त्यस्तै, हेटौँडा–३ बसामाडीको लेबट क्षेत्रबाट जमुचौतारा जाने सडकमा पनि विद्युत पोललाई बीचमा पारेर स्ल्याब ढलान गरिएको छ । सडकबीचमा भएका पोल नसारिँदा दैनिक दुर्घटनाको जोखिम बढेको छ ।

दुवै स्थानमा स्ल्याब ढलान गर्न गठित उपभोक्ता समितिले नेपाल विद्युत प्राधिकरण र हेटौँडा उपमहानगरपालिकालाई विद्युत पोल हटाउन आग्रह गरे पनि सुनुवाइ नभएपछि स्ल्याब ढलान गरिएको जनाएको छ । धापटोलमा बागमती प्रदेशको ३० लाख रुपैयाँ बजेटमा स्ल्याब ढलान गरिएको छ ।

१.५ मिटरको डिभाइडर बनाएर २ तर्फबाट ३–३ मिटरको स्ल्याब ढलान गरिएको छ । बसामाडीको लेवटमा ४.५० मिटर चौडाइको स्ल्याब ढलान विद्युत पोल बीचमा राखेर गरिएको छ । विद्युत प्राधिकरण हेटौंडाले भने बाटो विस्तार भएर पोल बीचमा पर्नु आफ्नो समस्या नभएको भन्दै पन्छिने गरेको छ ।

यसरी विद्युत पोल बीचमा राखेर २–२ मिटर स्ल्याब ढलान गर्दा चार पाङ्ग्रेदेखि ठूला सवारीसम्म आवतजावत गर्न नसक्ने स्थानीयले बताएका छन् । खासमा स्ल्याब ढलान नगर्दा बागमती प्रदेश सरकारको ३० लाख रुपैयाँको बजेट फिर्ता जाने भएपछि विद्युत पोल बीचमा पारेर सडक बनाइएको हो ।

प्राधिकरणले विद्युत संरचना स्थानान्तरण कार्यविधि २०७६ देखाउदै हरेक पोल सारे बापत २५ हजारका दरले खर्च लाग्ने नत्र पोल सार्न नसक्ने बताउदै आएको छ । उपमहानगरपालिकाले पनि विकास र सडक विस्तारका नाममा पहिल्यै प्राधिकरण संग सहजीकरण नगरी काम गर्दा अहिले विकास संगै दुर्घटनाको जोखिम बढेको जनाएको छ ।

स्ल्याब गरिएकोकुनै सडकमा पोल कै कारण चारपांग्रे सवारी गुड्न सक्ने स्थान छैन । पोल कै कारण एम्बुलेन्स र दमकल पनि गुड्न नमिल्ने गरी सडक विस्तार भएका छन् । हेर्दा सामान्य लाग्ने तर गम्भीर दुर्घटनामा कारक बन्ने यस्ता समस्यामा सबै सरोकारवालाको ध्यान जानु पर्ने हो । तर यसलाई सम्बन्धित निकायले बेवास्था गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *