राजनीति

भागबण्डामा विभेद गरिएको भन्दै जसपा-जनमत सत्ता गठबन्धनसँग असन्तुष्ट(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १० गते २१:३२
भागबण्डामा विभेद गरिएको भन्दै जसपा-जनमत सत्ता गठबन्धनसँग असन्तुष्ट(भिडियो रिपोर्टसहित)

१० माघ २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका मधेस केन्द्रित दलहरु अहिले रुष्ट बनेका छन् ।

पुस १० गते बनेको वर्तमान सत्ता समीकरणमा जोडिएको जनमत पार्टी र जनता समाजवादी पार्टी जसपा अहिले असन्तुष्ट बनेको छ । मन्त्रालय भागबण्डामा आफूहरुलाई सम्मान नगरिएको ति दलको आरोप छ ।

७ दलीय वर्तमान सत्तागठबन्धनका घटक हुन् मधेस केन्द्रित दल जसपा र जनमत पार्टी । जनमत पार्टी त एउटा मन्त्रालय लिएर सरकारमा सहभागी छ । तर, रोजेको मन्त्रालय नपाएकोमा उसको चित्त दुखाई छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन शीतल निवास पुगेको जनता समाजवादी पार्टी उपराष्ट्रपतिसहित केही महत्वपूर्ण मन्त्रालय पाउने आशमा छ । तर, मन्त्रालय र सभामुख, उपसभामुख भागबण्डा हुँदा जसपाको हात खाली नै रहने भएपछि जसपा निराश बनेको छ ।

राष्ट्रपति एमालेको भागमा पर्दा उपराष्ट्रपति माओवादीले पाउने सहमति बनिसकेको छ । यसको अर्थ प्रष्ट छ, उपराष्ट्रपति पनि जसपाले पाउने छैन । शक्ति बाँडफाँडमा गठबन्धभित्रै किनारामा परेपछि जसपा असन्तुष्ट छ । उसले त राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न सक्ने संकेत नै गरेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएपछि संसद बाहिर हुनुहुन्छ । उहाँ जसपा संसदीय दलको नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उहाँको निर्वाचन क्षेत्रमा उपचुनाव गराउने योजनामा देखिनुहुन्छ । तर, उपराष्ट्रपति भागमा नपर्दा यादवको संसद प्रवेश चाहना अधुरै बन्ने हुँदा यादव सत्तागठबन्धनभित्रै असन्तुष्ट बन्न पुग्नुभएको छ । मधेस केन्द्रित दललाई सँधै प्रयोग गर्ने नीति ठूला दलले अपनाउँदै आएकोमा यसपटक पनि त्यसैको निरन्तरता भएको मधेस केन्द्रित दलको बुझाई छ ।

जनमत पार्टीका अब्दुल खान उद्योग मन्त्री बन्ने सहमति भएपनि मन्त्रालय भागवण्डामा उहाँलाई खानेपानी मन्त्रालय दिएपछि मन्त्री खान मन्त्रालय नै जानुभएको छैन । तर, मन्त्रालय फेरबदल गर्ने करिब–करिब सहमति बनेको छ । सरकार बनाउँदा चासोमा परेपनि अहिले सत्तागठबन्धनभित्र मधेस केन्द्रित दल किन ओझेलमा परे त ?

मधेस केन्द्रित दलले आफूहरुलाई उपेक्षा गरिएकोमा सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेका छन् । उनीहरुको माग सम्बोधन नभए राष्ट्रपति निर्वाचनमा गठबन्धनप्रति इमान्दार रहन नहुने मत पनि ती दलमा देखिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्