Main News

नेपाललाई हिन्दु राष्ट्र बनाउने कसरतमा भारत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ७ गते २१:१८
नेपाललाई हिन्दु राष्ट्र बनाउने कसरतमा भारत (भिडियो रिपोर्टसहित)

७ माघ २०७९ काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट कुनै पनि दलले बहुमत पाएनन् । अहिले विभिन्न दल मिलेर सरकार बनेको छ । सत्तारुढ दलमा धार्मिक विचार राख्नेदेखि धर्म निरपेक्षता अँगाल्नेसम्म छन् । तर, सत्ता जोगाउन दलका नेताहरु जुनसुकै हदसम्म जान सक्छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको वर्तमान सरकारलाई सहजै आफ्नो एजेण्डामा सामेल गर्न भारत प्रयासरत् देखिन्छ । भारतीय संस्थापन केही समयभित्रै नेपाललाई हिन्दु राष्ट्र बनाउने र त्यसको असर भारतलाई पनि हिन्दु राष्ट्र कायम गर्ने पक्षमा पनि देखिएको छ । उसका लागि नेपालमा अहिले बनेको कमजोर सरकार सहज बन्न सक्छ ।

गत बिहीबार विश्व हिन्दु परिषद्का मन्त्री राजेन्द्र सिंह पँकजको काठमाडौंमा दौडधुपमा चल्यो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अयोध्याको राम मन्दिरको प्रतिमा हस्तान्तरण गर्नुभयो । देखिँदा सामान्य भेटघाट जस्तो लागे पनि यो भारतीय संस्थापन पक्षको चाहनामा नेपाललाई हिन्दु राष्ट्र बनाउने लविङका रुपमा अर्थ्याइएको छ । पँकजको भेट प्रचण्डसँग मात्र होइन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भयो ।

उहाँहरुबीचको कुराकानी पनि हिन्दु राष्ट्र बनाउने विषयमै केन्द्रित रहेको बुझिएको छ । यी भेटहरुबारे न त प्रधानमन्त्रीको स्वकीय सचिवालयले नै सार्वजनिक गरेको छ, न त कांग्रेस सभापति देउवाकै आधिकारिक सामाजिक सञ्जालमा राखिएको छ । यी भेट जुराउने कांग्रेस नेता विमलेन्द्र निधिले भने सार्वजनिक गर्नुभएको छ । पँकज भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीदेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्म नजिक हुनुहुन्छ ।

भारतीय संस्थापन पक्ष सन् २०२४ मा भारतमा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहन्छ । र, सन् २०२९ सम्ममा भारतलाई नै हिन्दु राष्ट्र बनाउने सत्तारुढ भारतीय जनता पार्टी विजेपीको मुख्य उद्देश्य रहेको प्रष्ट छ । अहिले भारतमा व्यूरोक्रेसी अन्तर्गत रहेको खुपिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ्स रअभन्दा हिन्दुवादी संस्थाहरु बढी प्रभाव राख्छन् ।

विजेपीको बाह्य नीतिमा राष्ट्रिय स्वयंसेवा दल आरएसएस र दक्षिण भारतीय मठाधिशहरु रहेको संरचना बढी सक्रिय छन् । त्यस्ता संस्थाहरुलाई विश्व हिन्दु परिषद्ले सहजिकरण गर्ने गरेको छ । नेपाल नीतिमा वितेको ५ वर्षमा करिब–करिब असफल बनेको भारत पुनः रअ र हिन्दुवादी संस्थाहरुलाई प्रयोगमा ल्याएर आफ्नो पकड कायम राख्न चाहन्छ । त्यसैअनुरुप देउवा–प्रचण्डलाई टुट्न नदिने भारतीय खेलमा नयाँ विकल्प पनि थपिएको छ ।

वर्तमान सरकारका किङमेकर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि विश्वासमा राख्ने भारतको चाहना छ । उसले पठाएका पछिल्ला व्यक्तिहरु कि रअका कि हिन्दुवादी बढी छन् । तर, रअलाई पनि परिचालन गर्न भारतले छाडेको छैन । नेपालको ‘माइक्रो मेनेजेमेन्ट’मा २०५९ देखि रअ प्रत्यक्ष संलग्न छ । अहिले रअका नेपाल मामिला हेर्ने राघव भटनागर मंगलबार मात्र दिल्लीबाट काठमाडौं उत्रिएका छन् ।

यहीबीचमा रअ प्रमुख सामन्त गोयल आउने तयारी समेत भएको छ । समग्रमा भारत अन्य मुद्दाभन्दा हिन्दुको मुद्दामा प्रवेश गर्न चाहन्छ । र नेपालमा गुमेको आफ्नो शक्ति कायम गर्न चाहन्छ । अहिले हिन्दुको मुद्दामा कांग्रेससँग एमाले अध्यक्ष ओली पनि सहज हुनुहुन्छ । त्यसबाहेक वर्तमान सत्ता गठबन्धनमा हिन्दुकै मुद्दा बोकेको राप्रपा छँदैछ । मधेस केन्द्रित दलहरु जसपा र लोसपा भारतको चाहनामा कहिले बाधक बन्दैनन् । जे होस् अहिले नेपालमा भारतले धर्मको मुद्दालाई बलियो पार्दा जनमत पनि पाउने आशा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *