सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

४ माघ २०७९ काठमाडौं । प्रतिनिधि सभाका सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।
संसद सचिवालयले सभामुख चयनका लागि दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने जनाएको छ । आजै ४ः१५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका छ ।
सभामुख चयनका लागि भोलि ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरिनेछ । सभामुख हुन सांसद हुनुपर्ने व्यवस्था छ । सत्ता साझेदार दलभित्र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन् ।
गत पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि सभामुख र राष्ट्रपतिलगायत पदमा सहमतिअनुसार नै जान आफूहरू सकारात्मक रहेको बताइरहेको छ ।
कांग्रेस नेता डा. चन्द्र भण्डारीले कांग्रेसले सभामुख पदमा अन्य दलको सहयोगको अपेक्षा गरेको बताउनुभयो । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज बिहान ९ बजे देउवा निवास धुम्बाराहीमा बैठक बस्ने बताइएको छ ।
बैठकमा सभामुखको निर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा निर्णय गर्नुका साथै अन्य राजनीतिक विषयमा पनि छलफल हुने काँग्रेस स्रोतले जनाएको छ । एमालेले भने सभामुख र राष्ट्रपति पद आफूले पाउने पहिले नै सहमति भइसकेको हिजो बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा पनि बताएको थियो ।
एमालेबाट सभामुखमा झापाका देवराज घिमिरे उमेद्वार बन्ने सम्भावना छ । सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ ।
प्रतिक्रिया