Main News

कसरी हुन्छ पाठेघरको क्यान्सर, जोगिने कसरी ?(भिडियो रिपोर्टसहित)

२०७९ पुष २७ गते २०:४९
कसरी हुन्छ पाठेघरको क्यान्सर, जोगिने कसरी ?(भिडियो रिपोर्टसहित)

२७ पुस २०७९ काठमाडौं । अन्य क्यान्सरसँगै महिलाहरुमा पाठेघर क्यान्सरको जोखिम उच्च हुन्छ । पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख छन्। पाठेघरको क्यान्सर कसरी र किन हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ?

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार विश्वमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरका ५ लाख बिरामी थपिने गरेका छन् । पाठेघरको मुखको क्यान्सरकै कारण विश्वमा प्रत्येक वर्ष २ लाख भन्दा बढिको मृत्यु हुने गरेको छ ।

डब्ल्युएचओका अनुसार नेपालमा हरेक वर्ष ३ हजार महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । र यसबाट मृत्यु हुनेको संख्या लगभग २ हजारको हाराहारीमा छ । पाठेघरको मुखको क्यान्सर ह्यूमन पपिलोमा भाइरस एचपीभी संक्रमणका कारण हुन्छ र त्यो संक्रमणबाट क्यान्सरमा परिणत हुन करिब १० देखि २० वर्ष लाग्ने चिकित्सकको भनाइ छ ।

सानै उमेरमा यौन सम्पर्क गरेका, एकभन्दा बढीसंग यौन सम्पर्क गर्ने, रोग प्रतिरोधात्मक क्षमता कम भएका, धेरै चोटी गर्भधारण गर्ने, धुमपान गर्ने र अन्य यौन रोग भएका महिलामा पाठेघरको क्यान्सरको जोखिम हुन्छ ।

लामो समयसम्म मिश्रित गर्वनिरोधक चक्कीको प्रयोग गर्ने महिलाहरुमा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावन बढी हुने चिकित्सकको भनाई छ । त्यसैले किशोरअवस्थामा नै पाठेघरको क्यान्सर विरुद्धको खोप गार्डासिल वा सर्वारिक्सको प्रयोग गरी पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।

यौन सम्पर्कपछि योनीबाट रगत बग्ने, कुनै पनि समयमा महिनावारी वा रक्तश्राव हुने तथा योनीबाट गनाउने पानी बग्ने लक्षण पाठेघरको मुखको क्यान्सरको हुन सक्छ । योनीमा असामान्य खालको दुखाई हुने, पिसाब फेर्दा वा दिसा गर्दा दुख्ने लगायतका समस्या भएमा पनि पाठेघरको मुखको क्यान्सरको संकेत हुने भएकाले तुरुन्तै अस्पताल जान चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *