राजनीति

कांग्रेसको निष्ठामा प्रश्न, महामन्त्रीद्वय निरीह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २७ गते १८:११
कांग्रेसको निष्ठामा प्रश्न, महामन्त्रीद्वय निरीह (भिडियो रिपोर्टसहित)

२७ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेसभित्र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निरिह देखिएका छन् ।

कांग्रेससँग सम्बन्ध टुटाएर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई विश्वासको मत दिने विषयमा असहमत हुँदाहुँदै पनि दुवैले लतारिएर विश्वासको मत दिए ।

योसँगै संघीय संसद सैद्धान्तिक रुपमा प्रतिपक्षविहीन भएको छ भने कांग्रेसको लोकतन्त्रप्रतिको निष्ठामा पनि प्रश्न उब्जिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा थापा र शर्मा विजयी हुँदा कांग्रेसमा अलग्गै उर्जा थियो । कांग्रेसभित्र महत्वपूर्ण निर्णय लिँदा महामन्त्रीद्वयको भूमिका निर्णायक हुने र पार्टीलाई उनीहरुले नै हाँक्लान् भन्ने कांग्रेस कार्यकर्ताको विश्वास तब निराशामा बदलियो जब उनीहरु पार्टीका पछिल्ला निर्णयहरुमा निरिह बने ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने भन्नेमा उनीहरु प्रष्ट थिए, मत नदिने प्रतिपक्षमा बस्ने । तर, संविधानको रक्षाका लागि भन्दै सभापति शेरबहादुर देउवापक्ष विश्वासको मत दिन तयार भएपछि महामन्त्रीद्वयले पार्टीभित्र फरक मत राखे पनि विश्वासको मत दिए ।

पार्टीभित्र फरक राय राखेर महामन्त्रीद्वय थापा र शर्माले सार्वजनिक रुपमा फेस सेभ गरे पनि पार्टी ह्वीप उल्लंघन गर्ने हिम्मत भने गर्न सकेनन् । विश्वासको मत दिन नहुने भन्दै महामन्त्रीहरुसँगै उभिएका सांसद प्रकाशमान सिंह, प्रदीप पौडेल, अर्जुननरसिंह केसीले पनि विश्वासको मत दिए । तर, उनीहरुलाई अहिले पनि लागेको छ, जे गरियो गलत गरियो । सरकारलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षको भूमिका नैतिक रुपमा गुमाएको उनीहरु ठान्छन् ।

कांग्रेसभित्रको निर्णय प्रक्रियामा सभापति देउवाको एकलौटी चल्दै आएको छ । पार्टीभित्र देउवाको एकल निर्णयलाई ब्रेक लगाउलान् भन्ने ठानिएका महामन्त्रीद्वय नै सभापति देउवाको विश्वासको मत दिने अस्वभाविक निर्णयसामू लाचार देखिँदा कांग्रेसको प्रतिपक्षीय भूमिकामाथि प्रश्नमात्र उठेको छैन, कांग्रेको संसदीय व्यवस्थामाथिको प्रतिबद्धतानै शंकाको घेरामा परेको छ ।

संसदीय व्यवस्थाको सौन्दर्य नै सत्तपक्ष र प्रतिपक्ष हुनु हो । प्रतिपक्षविहीन संसद, संसदका रुपमा होइन शासकको भजनमण्डली मात्र बन्दछ । आफूलाई लोकतन्त्रको पर्याय दाबी गर्ने कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रतिपक्षी हौँ भन्ने नैतिक सामर्थ्य गुमाएको छ ।

शक्तिमा पुनारागमन गर्ने देउवाको लोभका कारण अनैतिक निर्णयमा पुगेका फरक मतधारी सांसदसमेत सामान्य विद्रोहसमेत नगरी नतमस्तक भएर मतदानमा लतारिए । देउवासँग सति जान तयार भएका महामन्त्रीद्वय र अरु सांसदहरुमाथि के लोकतन्त्र र संसदीय मूल्यबारे जवाफ दिने शब्द बाँकी छन् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्