Main News

निर्मला कुर्मी प्रकरण : अनुसन्धानमा अलमल, लालटिन बालेर न्याय माग (भिडियो रिपोर्टसहित)

२०७९ पुष २६ गते २१:०२
निर्मला कुर्मी प्रकरण : अनुसन्धानमा अलमल, लालटिन बालेर न्याय माग (भिडियो रिपोर्टसहित)

२६ पुस २०७९ काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ की निर्मला कुर्मीको २०७७ सालमा हत्या भयो । कुर्मीको हत्याको आरोप सांसद बादशाह कुर्मीलाई लागेको छ ।

घटनाको छानबिन र निर्मलालाई न्यायको माग गर्दै तीन वर्षदेखि महिला अधिकारकर्मी सरकारको ढोका ढक्ढकाइरहेका छन् । तर सुनुवाइ अझै भएको छैन् ।

मंगलबार दिउँसै माईतिघर मण्डलामा, एउटा समूह लालटिन बालेर सरकारसँग न्याय माग गरिरहेको थियो ।

यो समूह बाँकेको निर्मला कुर्मीको न्यायको माग गर्दै दिउँसै लालटिन बालेर सरकारको ध्यानाकर्षण गराइरहेको छ । हुन त यो समूह सरकारलाई घचघच्याउन पहिलो पटक काठमाडौं आएको होइन् ।

पटक पटक आमरण अनसन र धर्ना बस्दा समेत सरकारले निर्मला कुर्मीको हत्याको विषयलाई गम्भीर रुपमा लिन सकेन । त्यसैले फेरि न्यायको माग गर्दै यो समूह माईतिघर मण्डलामा आइपुगेको हो ।

२०७७ सालमा निर्मला कुर्मीको शंकास्पद हत्या भयो । यो घटनाबाहिर आएसँगै महिला अधिकारकर्मी रुबी खानसहितले कुर्मीको छिमेकी बादशाह कुर्मीले सम्पत्ति हडप्न अपहरण र शरीर बन्धक बनाई हत्या गरेको बताउँदै न्यायको माग गरिरहेका छन् । गत वर्ष मात्रै सरकारी छानबिन समितिले पनि बादशाहसहित आठ जनामाथि अनुसन्धान गर्न सिफारिस गरिसकेको छ । तर अहिलेसम्म पनि यो मुद्दा अदालतमा पुग्न सकेको छैन ।

निर्मला कुर्मीको हत्या आरोपी कुर्मी बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट निर्वाचित भएका छन् । आरोपी बादशाहलाई शपथ नगराउन महिला अधिकारकर्मीले लुम्बिनी प्रदेशमा निवेदन पनि दिए । तर यसको सुनुवाई भएन । के सरकारले पहुँचको आधारमा आरोपी जोगाइरहेको हो ?

महिला अधिकारकर्मीले २०७७ सालदेखि नै कहिले आमरण अनसन त, कहिले नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेर निर्मला कुर्मीको न्याय माग गरिरहेका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय महिला आयोग र मानव अधिकार आयोगलाई गुहारिरहेका छन् । तर निर्मलाको न्याय दिने सरकार, लालटिन बालेर खोज्दा पनि भेटिएको छैन । नयाँ सरकार बनेसँगै खोजिरहेको न्याय भेटिने झिनो आशा उनीहरुलाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *