Main News

ट्राफिक प्रहरी : चोरीका मोटरमा सवारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २४ गते २१:३८
ट्राफिक प्रहरी : चोरीका मोटरमा सवारी (भिडियो रिपोर्टसहित)

२४ पुस २०७९ काठमाडौं । ठूलो संख्यामा ट्राफिक प्रहरीले नै चोरी र भन्सार छलीका मोटरसाइकल र कतिपय व्यक्तिले चारपांग्रे सवारी साधन नै प्रयोग गरिरहेको विषयमा हिमालय टेलिभिजनले केही दिनअघि समाचार प्रशारण गरेको थियो । समाचार प्रशारण भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शूक्ष्म निगरानी र अनुसन्धान सुरु गरेको बताएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पीडित सहायता कक्ष छ । जसको मुख्य काम हराइरहेका सवारी साधनको खोजी गर्नु र भेटिएपछि पीडितलाई हस्तान्तरण गर्नु हो । तर यो शाखामा कार्यरत कतिपय ट्राफिक प्रहरी अधिकारी आफ्नो जिम्मेवारीमा च्युत भएका मात्र छैनन्, गैरजिम्मेवार र गैर कानूनी काममा संलग्न छन् । अर्थात् केही ट्राफिक अधिकारी चोरी र भन्सार छलीका सवारी साधन फेरीफेरी चढ्ने गरेका छन् ।

हिमालय टेलिभिजनमा प्रमाणसहित यो सामग्री प्रशारण भएपछि ट्राफिक प्रहरी कार्यालय सचेत त देखिएको छ तर यस्ता गतिविधि रोकिएका छैनन् ।

स्रोतका अनुसार चोरीका सवारी साधन प्रयोग गरिरहेका ट्राफिक प्रहरीहरुलाई तत्काल सम्बन्धित सवारी साधन फिर्ता गर्न निर्देशन भइसकेको छ । तर फिर्ता भने गरिएको पाइएको छैन ।

सई धनबहादुर क्षेत्रीले बा ७ च ३७४४ नम्बर प्लेटको भन्सार छलीको निजी कार नै प्रयोग गरिरहेका छन् । अरु केही ट्राफिक प्रहरीले पनि भन्सार छली र चोरीका मोटरसाईकल प्रयोग गरिरहेका छन् ।

बेथिति भइरहेको खबर पाएको ट्राफिक कार्यालय मातहतका ट्राफिक प्रहरीलाई सवारी साधन फिर्ता गराउन सफल भएको छैन । यद्यपि छानबिन भइरहेको भने बताएको छ ।

चोरीका सवारी साधन ट्राफिक आफैंले प्रयोग गर्नुका साथै आफन्त र चिनजानका व्यक्तिलाई उपलब्ध गराउने र बिक्रि गर्ने गरकोसमेत पाइएको थियो । चोरी र भन्सार छलीका झण्डै पाँच सयको संख्यामा सवारी साधन ट्राफिक प्रहरीका साथै अन्य व्यक्तिहरुले प्रयोग गरिरहेको तथ्य बाहिरिएको थियो ।

चोरी र भन्सार छलीका सवारी साधनको प्रयोग गर्नु गैरकानुनी त हुँदै हो, यस्ता सवारी साधन चलाउने चालकले दुर्घटना गराएएमा दोषी सहजै उम्कन सक्ने अवस्था समेत रहन्छ । चोरीका सवारी साधन प्रयोग गरिरहेको तथ्य बाहिरिएसंगै ट्राफिक प्रहरी मात्रै नभएर सिंगो प्रहरी संगठन नै बदनाम हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *