Main News

शीतलहरकाे कहर, न्यानाे हुन परालकाे भर (भिडियो रिपोर्टसहित)

२०७९ पुष २३ गते २१:१९
शीतलहरकाे कहर, न्यानाे हुन परालकाे भर (भिडियो रिपोर्टसहित)

२३ पुस २०७९ पर्सा । पुस पहिलो सातादेखि नै तराईका जिल्लामा शीतलहरले आक्रान्त पारेको छ । साढे दुईदशक यताको तथ्यांक हेर्दा नेपालमा शीतलहरबाट हरेक वर्ष सरदर ३७ जनाको मृत्यु हुने गरेको छ ।

यो वर्ष पनि हालसम्म शीतलहरकै कारण दुई जनाको मृत्यु भइसकेको छ । हरेक वर्ष चिसोको प्रभावबारे राज्य जानकार रहेपनि समयमा कुनै पनि राहतको कदम नचाल्दा शीत लहरले तराईवासी सधैँ प्रभावित हुने गर्दछन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ का ४५ वर्षीय देवु सदाको शुक्रबार बिहान मृत्यु भयो । फुसको घरमा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको तृप्ति मेमोरियल ईएनटी अस्पतालले जनाएको छ । उचित बसोबास र खानपानको अभावमा चिसोका कारण सदा जस्तै धेरैले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ । चिसोको प्रभाव बारे राज्य जानकार रहेपनि समयमा कुनै पनि राहतको कदम नचालेको सर्वसाधारणको आक्रोश छ ।

उत्तरी भारतमा बढेको औद्योगिकीकरण लगायतका प्रकृतिमा प्रतिकूल प्रभाव पार्ने गतिविधिबाट तराईमा शीतलहर चल्ने गरेको छ । शीतलहर चल्न थालेपछि मानव स्वास्थ्य बाहेक खेतीपाती, पशुपालन, सडक यातायात, हवाई उडान, पर्यटन, शैक्षिक संस्थालगायत प्रभावित हुने गर्छ ।

सिरहाको गोलबजार नगरपालिका वडा न–१० धोबिया धारका मुनिलाल सदायको ९ सदस्यीय परिवार परालले छाएको घरमा बस्छन् । पराल ओछयाएर सुत्नु र परालको आगो ताप्नु नै जाडो छल्ने एक मात्र उपाय हो । उनी सहित स्थानीय ४० मुसहर घर परिवार चिसोका कारण समस्यामा परेका छन् ।

शीतलहरले आक्रान्त पारिरहँदा धनुषाका प्रमुख जिल्ला अधिकारी भने विगतका वर्षमा बाँडेको न्यानो कपडाले नै यस वर्ष पनि चिसो छल्न सक्ने अभिव्यक्ति दिन्छन् । उता, सिरहाका प्रमुख जिल्ला अधिकारी भने चिसोबाट छल्नका लागि आवश्यक सामग्री मिलाउन स्थानीय सरकारलाई निर्देशन दिएको बताउँछन् ।

तर, धनुषाका सिडिओले भने जस्तो गत वर्षको न्यानो कपडा आङमा देखिँदैन भने सिरहामा कुनै तयारी छैन । विपद व्यवस्थापन समितिको संयोजक रहेका प्रमुख जिल्ला अधकिारीको तर्कले पनि यसका लागि पुर्व तयारी हुन नसकेको संकेत गरिरहेको छ । यता, शुक्रवार प्रदेशका गृहमन्त्री नेतृत्वको प्रदेश विपद व्यवस्थापन समितिले मधेशको आठवटै जिल्लालाई तत्काल राहतका लागि जिल्ला पिच्छे आठ÷आठ रुपैया दिने निर्णय गरेको छ ।

शीतलहरका कारण सिरहा, धनुषामा सामुदायिक विद्यालयमा बिदा दिइएको छ भने बजारमा चहलपहल घटेको छ । नेपाली सेना, उद्योग वाणिज्य संघ सहितका संघ संस्थाहरुको अगुवाईमा ठाँउ ठाँउमा काठ र दाउराको बन्दोवस्त गरि आगो ताप्ने व्यवस्था गरिएको छ । तर, तराईवासीले भोगिरहेको चिसोले तीनै तहको सरकारलाई भने छोएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *