Main News

तराईमा शीतलहर : परालले छेकेन, राज्यले देखेन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २० गते २१:३९
तराईमा शीतलहर : परालले छेकेन, राज्यले देखेन (भिडियो रिपोर्टसहित)

२० पुस २०७९ काठमाडौं । शीतलहर र अत्यधिक जाडोका कारण तराईको जनजीवन कष्टकर बनेको छ । पुस पहिलो साताबाट चलेको शीतलहर र जाडोले काम गरी गुजारा गर्ने किसान र सर्वसाधारणलाई सास्ती भएको छ । जाडोले जनजीवन कष्टकर हुँदै गएपनि दैविक प्रकोप उद्धार समितिले जाडोबाट बच्न सावधानी अपनाएको छैन ।

सर्लाहीमा पुसको पहिलो हप्ताबाट सुरु भएको चिसोका कारण भित्री मधेशका विपन्न समुदाय सकसमा बाँचिरहेका छन् । मुस्किलले घामपानी छेक्न बनाएको झुपडीका कुनाकुनाबाट छिरेको चिसो स्याँठले दैनिक ज्याला मजदुरी गरेर मुस्किलले बिहान बेलुकाको छाक टारिरहेकाहरू पराल ओड्ने र ओच्छयाउने गरेर जाडो छल्ने गरेका छन्।

चिसो सुरुभए यतामात्र सर्लाहीको हरिपुर, कविलासी र मलंगवामा गरेर विपन्न दलित परिवारका ५ जनाले ज्यान गुमाई सकेका छन् । मृत्यु भएका अधिकांश न्यानो ओड्ने ओच्छाउने तथा लगाउने कपडा नभएकै कारण कठ्यांग्रिएका छन् ।
लुम्बिनी प्रदेशको बाँके, नवलपरासी पश्चिम र रुपन्देहीमा पनि बाक्लो हुस्सु र चिसोले जनजीवन अस्तव्यस्त बनाएको छ ।

जाडोको कहरबाट बचाउन नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई चोकचोकमा आगो ताप्ने ब्यबस्था मिलाउन नागरिकले आग्रह गरेका छन् ।

प्राकृतिक विपत्तिबाट नागरिकलाई बचाउन ठाँउ र अवस्था हेरेर आवश्यक बजेट छुट्याउनु पर्ने स्थानीय सरकार संचालन ऐनमा स्पष्ट ब्यवस्था छ । तर, यस्ता ब्यबस्था स्थानीय सरकारको महत्वको बिषय बन्ने गरेको छैन ।

बजेट छुट्याउने निकायले समेत दुई पाँँच लाखको दाउरा बाँडेर जिम्मेवारी पुरा गरेको दावी गर्नेगरेका छन् । त्यो पनि विपन्नको पहुचसम्म पुग्दैन । अधिकार सम्पन्न स्थानीय सरकार बजेट अभाव देखाउदै एनजिओ र आईएनजिओको मुख ताकिरहेका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन समिति समेत प्रभावकारी भुमिकामा देखिन गरेको छैन ।

बाँकेमा स्थानीय प्रशासनले जाडो र शीतलहरबाट प्रभावित परिबारलाई आगो ताप्नका लागि दाउरा र कम्मबल उपलब्ध गराउने तयारी गरेको छ । सुरु भने गरेको छैन ।

जाडो र हुस्सुबाट बच्न नवलपरासी पश्चिममा भने विपद् व्यवस्थापन समिति बैठकले सामुहिक धुनी बाल्न वन कार्यालयबाट न्यूनतम मूल्यमा काठ विक्री गर्ने निर्णय गरेको छ । विधार्थीले बोक्ने झोलामा परैबाट पहिचान हुने स्टिकर टाँस्ने निर्णय गरेको छ । सरकारले समेत स्पष्ट योजना नबनाउँदा यो हिउँदमा पनि तराई र मधेश प्रदेशका विभिन्न जिल्लावासी कठ्याङ्ग्रिएरै समय व्यतित गर्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *