Main News

चोरी र कर नतिरेका सवारी चढ्दै ट्राफिक प्रहरी (भिडियो रिपोर्टसहित)

२०७९ पुष २० गते २१:३५
चोरी र कर नतिरेका सवारी चढ्दै ट्राफिक प्रहरी (भिडियो रिपोर्टसहित)

२० पुस २०७९ काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा हराएका सवारी साधनको खोजतलाश गर्ने र भन्सार छलीका सवारी साधन बरामद भए भन्सार कार्यालयमा बुझाउने कार्यका लागि एउटा शाखा छ ।

पीडित सहायता कक्ष भनिने यो कक्षमा कार्यरत ट्राफिकले पीडितलाई सहायता दिने भन्दा पनि चोरी पैठारी भएका सवारी सधान बरामद भएमा आफैले फेरी(फेरी प्रयोग गर्ने र कतिपय अवस्थामा बेच्ने गरेको पाइएको छ ।

बा ७ च ३७४४ नम्बरको यो टोयोटाको नीजि कार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको पीडित सहायता कक्षमा कार्यरत असई धनबहादुर क्षेत्रीले चढ्छन् । यो उनले खरिद गरेको नभएर चोरी पैठारी भएर नेपाल आएको अर्थात् भन्सार छलीको कार हो । चोरीको कार भएकाले असई क्षेत्रीसंग यो कारको बिलबुक हुने कुरै भएन ।

ट्राफिकले नै कुदाउने कार कहिल्यै चेकिङमा पर्ने कुरा भएन, चेकिङमै नपर्ने भएपछि कर र कानूनी प्रक्रियाको प्रश्नै उठेन ।

भुपेन्द्र बहादुर चण्डुकारको नाममा दर्ता रहेको यो मारुती कार पछि ज्ञानु परियारको नाममा दर्ता भएको यातायात व्यवस्था कार्यालय एकान्तकुनाको रेकर्डमा देखिन्छ । तर अर्कै व्यक्तिको नाममा दर्ता भएको नम्बर प्लेट प्रयोग गरेर असई क्षेत्रीले यो कार प्रयोग गरिरहेका छन् ।

क्षेत्री यो शाखामा २२ वर्ष देखि कार्यरत छन् । उनले गाडी मात्रै नभएर चोरीका बाइक पनि फेरी(फेरी चढ्ने र आफन्त तथा अन्य व्यक्तिलाई सस्तो मूल्यमा बेच्ने गरेको पाइएको छ ।

ट्राफिक प्रहरी सहायक हल्वल्दार भुपेन्द्र कार्की ०२७ प ३८३६ नम्बरको बुलेट बाइक चढ्दै आएका छन् । त्यस्तै प्रहरी जवान पविन अधिकारीले ०३२ प ५९८८ नम्बरको अर्को बुलेट बाइक प्रयो गर्दै आएका छन् । दुवै बुलेट बाइक चोरीका हुन् ।

यसअघि यही शाखामै कार्यरत प्रहरी निरिक्षक दुर्गा श्रेष्ठले पनि बा ८८ प ५३३९ नम्बरको बुलेट बाइक चढ्छन् । प्राप्त सूचना अनुसार झण्डै पाँच सयको हाराहारीमा चोरीका तथा भन्सार छलीका बाइक तथा अन्य सवारी साधन ट्राफिकले चढ्ने वा नजिकका व्यक्तिलाई दिने गरेको छ ।

ट्राफिक प्रहरी आफैँले चोरीका सवारी साधन प्रयोग गरेको विषय भने कार्यालयले अस्वीकार गरेको छ । कसैले चोरीका, भन्सार छली गरेका सवारी साधन प्रयोग गरेको भए विभागीय कारबाही हुने ट्राफिक प्रवक्ताको भनाइ छ ।

चोरीका सवारी सधान कारबाहीका लागि सम्बन्धित प्रहरी वृतमा बुझाउनु पर्छ भने भन्सार छलीका सवारी साधन भन्सार कार्यालयमा दाखिला गर्नुपर्छ ।

सवारी साधनमा हुने अवैध कारोबार तथा प्रयोग रोक्ने जिम्मेवारीमा रहेको ट्राफिक प्रहरी आफै दुरुपयोगमा संलग्न हुन गैरजिम्मेवारी र लापरबाहीको पराकाष्ठा हो । आफैले गलत गर्ने ट्राफिकले अरुमाथि कारबाहीको डण्डा कुन नैतिकताले चलाउन सक्छ ? गम्भीर प्रश्न खडा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *