Main News

अनुभवी नेताहरु किन चाहिरेका छैनन् सरकारमा जान ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १८ गते २१:०९
अनुभवी नेताहरु किन चाहिरेका छैनन् सरकारमा जान ? (भिडियो रिपोर्टसहित)

१८ पुस २०७९ काठमाडौं । नयाँ सत्तासमीकरण बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुभयो । ७ दलको समर्थन प्राप्त प्रचण्डको नेतृत्वमा बनेको सरकारकमा पहिलो चरणमा ७ जना मन्त्री भए पनि ४ जना अहिलेसम्म विनाभिवागीय नै हुनुहुन्छ । प्रधानमन्त्रीमा दाहाललाई समर्थन गरेका दलका प्रभावशाली नेताहरु सरकारमा जान उत्सुक देखिएका छैनन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त हुनुभयो । तर उहाँलाई समर्थन गरेको दल राप्रपाले सरकारमा नजाने बताइसकेको छ भने नागरिक उन्मुक्ति पार्टी पर्ख र हेरको अवस्थामा छ । जसपामा पनि सरकारमा जाने विषयमा मतभेद नै छ । अहिले प्रधानमन्त्री प्रचण्डको दल माओवादीसहित एमाले, स्वतन्त्र पार्टी र जनमत मात्रै सरकारमा सहभागी छन् ।

सत्तारुढ दलहरु पार्टीबाट शक्तिशाली नेताहरु सरकारमा नपठाएको भन्ने विषयलाई सार्वजनिक रुपमा भने स्विकार गर्दैनन् । सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमाले लगातार दुई पटक वा सो भन्दा बढी जनताबाट अनुमोदीत भएका तर यस अघि अवसर नपाएकालाई प्रथमिकता दिने बताउँछ ।

शुरुमा सरकारमा जान हौसिएको जनमत पार्टीले उपाध्यक्षलाई सरकारमा पठायो । अध्यक्ष सिके राउत सरकारमा जानु भएन । उपप्रधानमन्त्री नियुक्त माओवादी नेता नारायणकाजी श्रेष्ठ वरियताको विषयमा असन्तुष्ट देखिनुहुन्छ ।

नयाँ सत्ता समीकरणका सुत्रधार भनिएका माओवादी नेता वर्षमान पुन नै अहिलेको मन्त्रिपरिषद्मा सहभागी हुन इच्छुक देखिनुहुन्न। एमालेले उपप्रधानसहित अर्थमन्त्रीमा पुरानै अनुहार विष्णु पौडेललाई पठाए पनि अरु भने नयाँ अनुहार पठाएको छ । अरु बेला एमाले, माओवादीमा मन्त्री बन्न खोज्नेहरुको भिड नै हुन्थ्यो । तर, यसपटक माथिल्लो तहका नेताहरु सरकारमा जान त्यति उत्सुक देखिएका छैनन् ।

मन्त्रिपरिषद विस्तार नहुँदै प्रधानमन्त्री प्रचण्डको सरकारबारे विभिन्न अड्कलवाजी शुरु भइसकेका छन् । यसअघि नै पार्टी एकीकरण गरेर एउटै विमानका दुई चालक हौं भनेका प्रचण्ड र केपी ओलीको सहकार्य टुटेको धेरै भएको छैन । त्यसैले पनि यसपटकको सहकार्य कति समयलाई हुने हो भन्ने आशंका कतिपयमा देखिन्छ ।

त्यसबाहेक यसअघि पटकपटक मन्त्री बनेका र पार्टीका शक्तिशाली नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेभन्दा तल बस्न अप्ठ्यारो मानिरहेको चर्चा पनि छ । प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार नहुने पक्का छ ।

पार्टीका प्रभावशाली नेताहरुले अहिले दिइरहेको अभिव्यक्ति साँच्चिकै सरकारमा नजानलाई हो वा सस्तो लोकप्रियताका लागि मात्र हो त्यो भने हेर्न बाँकी छ । तर सरकारमा सहभागी हुने उत्साह घटेको विषय संसदमा रैथाने दलहरुको कमजोर उपस्थिति र सरकारमा नयाँ अनुहारहरुको प्रवेशलाई कारक मान्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *