Main News

निर्मला पन्तको हत्यारा समात्न सफल हुनुहोला गृहमन्त्री रवि लामिछाने ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष १३ गते २०:१३
निर्मला पन्तको हत्यारा समात्न सफल हुनुहोला गृहमन्त्री रवि लामिछाने ? (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ काठमाडौं । कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगिसकेको छ । प्रहरी अनुसन्धान जारी रहेको बताउँछ ।

अनुसन्धान जारी रहँदा नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पन्तको हत्याको अनुसन्धान छिटो सक्ने गरी प्रक्रिया अघि बढाउने गरी आफ्नो पहिलो निर्णय नै गराउनु भएको छ । निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा उभ्याउन लामिछाने सफल हुनुहोला त ?

रवि लामिछाने सञ्चारकर्ममा हुँदादेखि नै निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनु पर्ने भन्दै आवाज उठाउनु भएको मात्रै थिएन पीडितकी आमा दुर्गादेवीलाई भेटेरै निर्मलाको न्यायका लागि लडिरहने प्रतिवद्धता जनाउनु भएको थियो ।

टेलिभिजनको पर्दाभित्र रहँदा न्यायका लागि चर्को आवाज उठाएका र अनुसन्धान गर्न नसकेको भन्दै प्रहरीमाथि बारम्बार प्रश्न तेर्स्याइरहेका लामिछाने अहिले न्याय दिने निकाय गृहमन्त्रालयकै नेतृत्वमा पुग्नु भएको छ । गृहमन्त्रीको पदभार ग्रहण गर्दा नै उहाँले निर्मला पन्तको हत्यारा पत्ता लगाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिइसक्नु भएको छ ।

गृहमन्त्री लामिछानेको निर्देशनपछि आमा दुर्गादेवीलाई छोरीको हत्यारा पत्ता लाग्ने र दोषी कारबाहीको दायरामा आउने झिनो आश त पलाएको छ । तर विगतमा पन्तको हत्याकाण्डलाई यसरी गिजोलिएको छ कि हत्यारा पत्ता लागि हाले पनि कञ्चनपुरबासीले विश्वास गरिहाल्ने अवस्था छैन ।

हिजो निर्मला प्रकरणलाई गिजोल्नेमा सामाजिक सञ्जाल, नागरिक समाज, राज्यसंयन्त्र, राजनीतिक दल त थिए नै सञ्चारमाध्यम र स्वयम् लामिछाने पनि हुनुहुन्थ्यो । टेलिभिजनको स्टुडियोबाटै लामिछानेले उत्तेजक रुपमै न्यायाधीशको भूमिकासमेत निर्वाह गर्न पछि पर्नु भएन।

अनुसन्धान गर्ने र न्याय निरुपण गर्ने निकायहरु फरकफरक छन् । प्रहरीको काम घटनाको अनुसन्धान गर्ने र त्यसअनुसारका प्रमाण जुटाएर अदालतमा पेश गर्ने हो । लामिछाने अहिले त्यही निकायको नेतृत्व गर्न पुग्नु भएको छ । उहाँअन्तर्गतको नियकाले अनुसन्धान गरेर अदालतमा पेश गरेपछि यसको छिनोफानो अदालतले नै गर्नेछ । टेलिभिजनको पर्दामा जस्तो मन्त्री पदमा बसेर न्यायाधीश बन्ने छुट हुने छैन ।

यो घटनामा दिलिपसिंह विष्टलाई दोषी रहेको आशंकामा प्रहरीले डीएनए जाँच गरेको थियो तर नमिलेपछि विष्टलाई छाडिएको थियो ।
निर्मला पन्तको प्रकरणमा भिड नै न्यायाधीश बनेको थियो । त्यतिबेला भीडले पनि दिलिपसिंह विष्टलाई सफाइ दिएको थियो । जबकी प्रहरीले विष्टले नै निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको दाबी गरेको थियो ।

जे होस् घटनाको लामो समयपछि यसैमा राम्रै सरोकार राखेका र यतिबेला आम रुपमा भरोसा बटुलेका लामिछाने मन्त्री बनेपछि घटनाले किनारा पाउला कि भन्ने आशा चाँहि पलाएको छ ।

पोखरीको बाहिर बसेर नाक थुन्नु र भित्रै पसेर सफा गर्नु नितान्त फरक कुरा हुन् । लामिछाने बाहिर बसेर आलोचना गरेपछि आफै भित्रसमेत पस्नु भएको छ । नेपालको सन्दर्भमा त राजनीतिक नेतृत्वले बाचा गरेअनुसारको काम गर्नु अपवाद मात्र हो ।

त्यसैले यस्ता कामहरुलाई हात्तीको देखाउने दाँतका रुपमा व्याख्या गर्ने गरिन्छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेपछि निर्मला प्रकरणलाई पहिलो प्राथमिकतामा समेत राखिसक्नु भएका लामिछानेले अब कस्तो पाइला चाल्नुहुन्छ, ती पाइलापाइलाको हिसाब आम मतदाता र शुभेच्छुकले राख्ने नै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *