चुनाैतीको चाङमा प्रचण्डको तेस्रो कार्यकाल (भिडियो रिपोर्टसहित)

१२ पुस २०७९ काठमाडौं । नाटकीयरुपमा ‘यू–टर्न’ हुँदै पुष्पकमल दाहाल तेस्रोपटक सत्ता कमाण्डर बनेका छन्। पहिलोपटक लहडको निर्णयका कारण सत्ता छोड्नु परेका दाहालको दोस्रो कार्यकाल तुलनात्मकरुपमा कम विवादित रह्यो।
सात दलको चित्त बुझाएर दाहालले तेस्रो कार्यकाल कसरी पूरा गर्लान् भन्नेमा चासो र चिन्ता सुरु भइसकेको छ। दाहालले सामना गर्नुपर्ने चुनौति के–के होलान् त ? आउनुहोस् संक्षिप्त चर्चा गरौं।
संसदीय गणितको ३२ अंक नै प्रचण्डको सबैभन्दा ठूलो चुनौति हो। किनकि, तेस्रो शक्तिकारुपमा दाहालको यो सत्तायात्राको काँध अरुसँगै छ। उनीहरु जुन बेला उफ्रिन्छन्, दाहाल पछारिने निश्चित छ।
एमालले आफैं बहुमत जुटाइदिएर प्रधानमन्त्री त बनायो । तर, एमाले र माओवादीबीच अझै तिक्त सम्बन्ध छ । माया लागेर ओलीले दाहाललाई प्रधानमन्त्री बनाएका होइनन्, कांग्रेसले एकलौटी गर्न लागेको सत्ताको साँचो आफूमा ल्याउन हो । त्यसैले ओलीजस्तो इखालु पात्रलाई विश्वासमा लिन पनि दाहाललाई सहज नहुन सक्छ ।
दाहाल साढे दुई वर्षपछि प्रधानमन्त्री हस्तान्तरण गर्नुपर्ने बाध्यतामा छन् । ओलीले नेकपा कालमा दिएको धोका अब फच्या गर्छु भन्ने सोच चुहियो भने मात्रै पनि दाहाल खतरामा पर्छन् ।
प्रदेश सरकारसहित राजकीय पदहरूको बाँडफाँटमा पनि दाहालले एकल निर्णय गर्न सक्दैनन् । किनकि, दलीय आकारका कारण पनि एमालेले बहुसंख्यक पदमा दाबी गर्ने छ । एमालेसँग क्षण–क्षणमा सम्झौता गर्नुपर्ने बाध्यतामा पर्नेछन् दाहाल ।
दाहाललाई एमालेबाहेक अन्य पाँच दलले पनि समर्थन गरेका छन् । जो, सत्ता निरन्तरताका लागि उत्तिकै महत्वपूर्ण छन्। सरकारका नीति, योजना र कार्यक्रमसहित निर्णयमा उनीहरुको साथ अनिवार्य छ । एमाले र साना पाँच दलबीच सन्तुलन कायम गर्न पनि दाहाललाई कठिन नै हुनेछ ।
यसै चुनावमार्फत् उदाएका राष्ट्रिय स्वतन्त्र, जनमत र नागरिक उन्मुक्ति पार्टी कुन प्रकृति र प्रबृत्तिका हुन्, उनीहरुका एजेण्डा के हो भन्ने नखुल्दै सहकार्य गर्नुपरेको छ । नीति, विचार र कार्यशैलीमा तत्कालै दरार पनि आउन सक्छ । किनकि, उनीहरु तातै खाऊँ, जल्दै मरुँको हतारोमा छन् । तर, दाहाल भने हतारभन्दा धैर्य र विवेकपूर्ण निर्णय लिनुपर्ने बाध्यतामा छन् ।
शेरबहादुर देउवाजस्तो विपक्षी दलका हुनु सकारात्मक भएपनि सत्ताबाट सडकमा लडाएका कारण उनी दाहालसँग प्रतिशोध साँध्ने तहमा उत्रिने खतरा रहन्छ । धोका दिएर आएको कांग्रेसले दाहाललाई हर पाइलामा अबरोध गर्न सक्छ । साथ छोडेकोमा माधव नेपाल पनि चिढिएका छन् । देउवा र नेपाललाई विश्वास लिन दाहाललाई सजिलो छैन ।
पछिल्लो समय अर्थतन्त्रका कतिपय सूचकांक नकारात्मक छन् । राजस्वले चालु खर्च धान्नै धौधौ छ । बैंकको ऋण–ब्याज महँगिएका कारण उद्योगी–व्यवसायी आन्दोलित छन । ओरालो लागेको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन सबैभन्दा बढि पापड पेल्नुपर्ने छ ।
जुन व्यवस्थाको दुहाई दिएपनि, जति नै सरकार बनेपनि जीवनमा खासै परिवर्तन नआउँदा नागरिक निरास छन् । व्यवस्था, राजनीति, दलप्रति वितृष्णा बढ्दो छ । बेथितिका चाङ लागेपनि सुधार नहुँदा नागरिक आक्रोशित पनि छन् । निरासबाट आक्रोशित बन्दै गएका नागरिकको विश्वास जित्नु दाहालको सबैभन्दा ठूलो चुनौति हो । जसका लागि उनी र उनी नेतृत्वको सरकारले फरक सोच्न र गर्न आवश्यक छ ।
नागरिकको कामना छ, जुन सुरकार आए पनि कानै चिरेकोजस्तो नहोस् ।
प्रतिक्रिया