Main News

सत्ता गठबन्धनमा सहमति नभएपछि एमालेसहितको नयाँ गठबन्धन

हिमालय टिभी
२०७९ पुष १० गते १४:३७
सत्ता गठबन्धनमा सहमति नभएपछि एमालेसहितको नयाँ गठबन्धन

१० पुस २०७९ काठमाडौं । प्रधानमन्त्रीका विषयमा सत्ता गठबन्धनमा सहमति नजुटेपछि नयाँ गठबन्धनको तयारी सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा दुई बमोजिम प्रधानमन्त्री पदमा दाबीका लागि दिएको समयसीमा सकिनै लाग्दा नयाँ गठबन्धनको तयारी अघि बढेको हो ।

नयाँ गठबन्धनको तयारीका लागि नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ ।

बिहान बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री पदमा सहमति नजुटेपछि प्रचण्ड बालकोट पुग्नु भएको हो । बालुवाटारमा भएको छलफलमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद नछोड्ने अडान राखेपछि प्रचण्ड त्यहाँबाट सिधै बालकोट प्रस्थान गर्नुभएको थियो ।

बालकोटमा प्रचण्ड पुग्नुअघि एमाले अध्यक्ष ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोलाएर छलफल गर्नुभएको थियो ।

त्यस्तै ओलीले जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसँग पनि छलफल गर्नु भएको छ । एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपा एक ठाउँमा आए १ सय ५६ सिटको गठबन्धन बन्नेछ । सरकारमा जाने विषयमा छलफल गर्न राप्रपाले अहिले पदाधिकारी बैठक बोलाएको छ ।

नयाँ गठबन्धनले सुरुवाती दुई वर्ष प्रधानमन्त्री दिन प्रस्ताव गरेमा आजै अपराह्न पाँच बजेसम्म प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने प्रचण्डको तयारी छ ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४ र जसपाका १२ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *