आर्थिक

बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित

२०७९ पुष ९ गते ८:०८
बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित

९ पुुस २०७९ वालिङ । बङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् ।

स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बङ्गुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो । कोभिड–१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बङ्गुर बिक्री हुन छाडेका फार्मका सञ्चालक भीम लुइँटेलले बताउनुभयो । पहिला पहिला देशका विभिन्न ठाउँबाट पाठापाठीको माग अत्यधिक हुने र पु-याउनै धौधौ हुने गरेकोमा पछिल्लो समय बिक्री नभएर माउ तथा पाठापाठी पाल्नुपर्ने बाध्यता आइपरेको हो ।

त्यहाँ माउ र पाठापाठी गरी एक हजार तीन सय वटा छन् । “पाठापाठी बिक्री भएनन्, बिक्री नभएपछि राख्ने ठाउँ भएन”, उहाँले भन्नुभयो, “राख्ने ठाउँको अभाव, दानापानी तथा औषधि उपचार अभावले गर्दा चार सयको हाराहारीमा पाठापाठी मरिसकेका छन् ।”वैदेशिक रोजगारीको सिलसिलामा युएईमा काम गर्नुभएका उहँले घर फर्केर २०७१ सालमा फार्मको सुरुआत गर्नुभएको हो ।

सुरुआती चरणमा ब्राह्मणको छोराले बङ्गुर पाल्यो भनेर खिसी गर्नेहरु पछिल्लो समय प्रशंसकसमेत बने । फर्मको सुरुआती चरणदेखि हालसम्म रु नौ करोड लगानी भइसकेको उहाँले बताउनुभयो ।

तयारी भएका माउ तथा पाठापाठी बिक्री नभएपछि पाल्नुपर्दा थप लगानी बढेको छ । अहिले सात सय वटा बिक्रीको तयारीमा छन् । “पहिला तयार भएका माउ तथा पाठापाठी बिक्री भई आम्दानी हुन्थ्यो, त्यही आम्दानी दानापानी तथा औषधिमा खर्च गरिन्थ्यो”, उहाँले भन्नुभयो । तयारी अवस्थाका माउ तथा पाठापाठी बिक्री भएमा न्यूनतम रु दुई करोड आम्दानी हुने अनुमान उहाँको छ ।

यता माउ तथा पाठापाठी बिक्री हुँदैनन् उता उल्टै दानापानी तथा औषधि उपचारमा मासिक रु २० लाख घाटा लाग्ने दाबी व्यवसायी लुइँटेलको छ । उहाँ आफैँले फ्रेस हाउस सञ्चालन गर्नुभयो तर त्यहाँ पनि सन्तोषजनक मासु बिक्री भएन । पाठापाठी बाहिरी जिल्लामा बिक्री हुँदै आएकामा पछिल्लो समय माग आउन छाडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *