Main News

चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

हिमालय टिभी
२०७९ पुष ६ गते २०:५१
चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

६ पुस २०७९ काठमाडौं । हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका चाल्र्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आज न्यायाधीश सपना प्रधान मल्ल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै कैदबाट मुक्त गर्न आदेश दिएको हो । ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा चार्ल्स शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश दिएको छ ।

आदलतको आदेशमा ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा दिएर छोड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ । उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो ।

उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ । १९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानून प्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावासविरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *