Main News

सरकारको नेतृत्व पाउनुपर्ने प्रचण्डको सर्त, एकीकृत समाजवादीको यस्तो दबाब (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ५ गते २१:१८
सरकारको नेतृत्व पाउनुपर्ने प्रचण्डको सर्त, एकीकृत समाजवादीको यस्तो दबाब (भिडियो रिपोर्टसहित)

५ पुस २०७९ काठमाडौं । सरकार नेतृत्व आफैंले पाउने सर्तमा माओवादी केन्द्रले सत्ता गठबन्धनको विकल्प खोजेको हो कि भन्ने आशंका छ । र, उ एमालेसँग नजिकिएको चर्चा पनि छ । तर, दुबै दलले मुख खोलेका छैनन् ।

सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादी भने प्रधानमन्त्रीको दाबी छोड्न कांग्रेसलाई र सत्तारुढ गठबन्धन नछोड्न माओवादी केन्द्रलाई दबाब दिइरहेको छ । उसले भनेजस्तो गठबन्धन कायम पनि रहने र प्रचण्ड प्रधानमन्त्री पनि बन्ने संभावना बन्ला त ?

सार्वजनिक रुपमा जे भनेपनि सरकार नेतृत्व पाउने सर्तमा प्रचण्ड परेको व्यहोर्ने निश्कर्षमा पुगेका छन् । र, कांग्रेसले नदिए एमालेको साथ खोज्ने तयारी गृहकार्यको चरणमा पुगेको छ । एमालेसँग उठबस् पनि बाक्लिएको बताइन्छ ।

प्रचण्ड नेतृत्वको पार्टीसँग एकता गर्ने सुरसारमा रहेको एकीकृत समाजवादी भने वर्तमान गठबन्धन जोगाउनै पर्छ भन्छ । तर, अडान भने प्रचण्डनै प्रधानमन्त्री हुनुपर्छ भन्ने राख्छ ।

कांग्रेसले प्रचण्डलाई अघिल्लो प्रधानमन्त्री नदिए गठबन्धन टुट्ने संभावना रहन्छ । तर, समाजवादी गठबन्धन कायम राखेर प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनु पर्छ भन्दै छ । गठबन्धनसमेत कायमै रहेर प्रचण्डले सरकारको नेतृत्व गर्ने संभावना बन्ला त रु

आफू प्रधानमन्त्री हुने सर्तमा प्रचण्ड जुनसुकै गठबन्धनका लागि तयार देखिन्छन् । तर, प्रचण्डलाई नै नेता मान्दै आएको र उनकै कारण केही उद्धार भएको एकीकृत समाजवादी वामपन्थी सरकारको चर्चा मात्र होइन, बहस नै सुन्न चाहान्न । यसका मूलतः चार कारण छन्ः

पहिलो – एमाले र माओवादीको सहकार्य हुँदा आफू पनि लतारिएर जानुपर्ने बाध्यता । जाँदा एमालेलाई नै मूल शक्ति स्वीकार्नु पर्ने अवस्था ।

दोस्रो – नेतृत्वले नै एमालेलाई मुल शक्ति स्वीकारेपछि कार्यकर्ता एमालेमा नै फर्किएलान् भन्ने चिन्ता । संगठनात्मक क्षतिको डर ।

तेस्रो – एमालेको सहयोगमा सरकार नेतृत्व पाएपछि माओवादीसँगले भाउ नदेला र पार्टी एकता प्रयास नै धरापमा पर्ला कि भन्ने त्रास ।

चौथौ – कांग्रेससँग गठबन्धन कायमै रहँदा माओवादीले नै समाजवादी देखाएर गर्नेजस्तो सौदाबाजी एमालेसँग संभव नहुने आकलन ।

एमाले र एकीकृत समाजवादीबीच राजनीतिक सम्बन्ध छैन । विभाजनको प्रभाव तल्लो तहसम्म छ । माथिदेखि तलैसम्म व्यवहार प्रतिशोधपूर्ण छ । सत्ता सहकार्यबारे छलफलको चरणसम्म पुग्दा पनि माओवादीले एकीकृत समाजवादीलाई भनेको छैन । एमालेले त झन के भन्थ्यो ।

सरकार नेतृत्व पाउने सर्तमा एमालेको इच्छामा मात्रै माओवादी केन्द्र आफूसँग थप छलफल गर्न वा नगर्ने परिस्थितिसम्म पुगेको समाजवादीका केही नेताको भित्री निश्कर्ष छ । तर, बाहिर भने उनीहरु चर्चा गरिएजस्तो राजनीतिक घटना विकसित भइनसकेको दाबी गर्छन् ।

निर्वाचन परिणामलगत्तै मंसिर १९ मा बसेको पाँचदलीय सत्ता गठबन्धनको बैठकले गठबन्धनकै पक्षमा जनादेश रहेको र यसैलाई निरन्तरता दिनुपर्ने निर्णय लिएको थियो । तर, अघिल्लो दुई वर्षको प्रधानमन्त्रीमा देउवा र दाहालको दाबीले गठबन्धनको निरन्तरतामा आशंकासँगै नयाँ सरकारको नेतृत्वमा थप चासो बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *