आर्थिक

भारतबाट विद्युत आयात प्रक्रिया सुरु (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २६ गते २१:१०
भारतबाट विद्युत आयात प्रक्रिया सुरु (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७९ काठमाडौं । हिउँदयाम सुरु भएसँगै स्वदेशी उत्पादनले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात प्रक्रिय सुरु गरेको छ ।

भारतले हिउँदमा निकासी गर्ने विद्युतको नेपालबाट खरिद गर्नेभन्दा दोब्बर मूल्य प्रस्ताव गरेको छ। नेपालबाट किन्दा सस्तोमा र बेच्दा महँगो गर्ने भारतको नीतिका कारण नेपालले भारतसँग खासै लाभ लिन सकेको छैन ।

यो वर्षको कात्तिकसम्म नेपाल विद्युत प्राधिकरणले १० अर्ब ३८ करोड रुपैयाँको विद्युत भारतलाई बेच्यो । नेपालले भारतलाई बेचेको विद्युतको औसत दर ७ रुपैयाँ २३ पैसा रहेको छ । भारतको डे अहेड मार्केटमा प्रतिस्पर्धा गरेर विद्युत बेच्ने गरेको छ। अब हिउँदयाम सुरु हुन लागेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली आयात सुरु गरिसकेको छ ।

प्राधिकरणले डिसेम्बर १ देखि फेब्रुअरीसम्म २०० मेगावाट र फेब्रुअरीदेखि मेसम्म ३५० मेगावाटसम्म विद्युत आयात गरि माग धान्ने योजना बनाएको छ । त्यसका लागि आह्वान गरिएको बोलपत्रमा भारतीय एनभिभिएनले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत फेब्रअरीसम्मका लागि प्रतियुनिट ११ रुपैयाँ ४८ पैसा माग गरेको छ ।

त्यसैगरी टनकपुरबाट बिजुली ल्याउन भारतीय अर्धसरकारी निकाय पीटीसी–इण्डियाले १२ रुपैयाँ ९२ पैसामा टेन्डर हालेको छ । यसबाट प्रष्ट हुन्छ । बिद्युत ब्यापारमा भारतको रणनीति नेपाललाई बेच्दा महँगो गर्ने र किन्दा सस्तोमा किन्ने रहेको छ ।

देशभित्रको कूल जडित क्षमता करिब २२ सय ६० मेगावाट पुगे पनि अधिकांश नदी प्रवाही प्रकृतिका विद्युत गृह भएकाले हिउँदयाममा जडित क्षमताको जम्मा एक तिहाई मात्र बिजुली उत्पादन गर्छन् । विद्युतमा आत्मनिर्भर बन्न अझै २ वर्ष लाग्ने देखिन्छ । यसले गर्दा प्राधिकरणसँग कि महँगोमा आयात गरेर माग धान्ने कि लोडसेडिङ्ग गर्ने बाहेक अर्को बिकल्प छैन् ।

यो वर्ष करिब ७ अर्ब रुपैयाँको विद्युत आयात गर्नुपर्ने अनुमान छ । खपत गरेर बढी भएको विद्युत निर्यात गरेर ब्यापार घाटा न्यूनिकरण गर्ने सोच नराम्रो होइन । तर सरकारले निर्यातभन्दा पनि खपतमै जोड दिनुपर्ने आवश्यकता छ । किन की एक युनिट विद्युत निर्यात गर्दा औसत ७ रुपैयाँ आम्दानी भएपनि त्यसलाई स्वदेशमै खपत गर्ने हो भने एक सय रुपैयाँ मूल्य बराबरको लाभ हुने जानकार बताउँछन् ।

यसपालिको वर्षायाममा नेपालले आठवटा जलविद्युत् गृहले उत्पादन गर्ने थप २१२।७ मेगावाट बिजुली निर्यातका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव गरेको थियो । भारतले नेपालको प्रस्ताव उपर कुनै सुनुवाई नै गरेन । हालसम्म भारतले नेपालका ४ वटा आयोजनाले उत्पादन गरेका बिजुलीलाई मात्र अनुमति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *