राजनीति

बागमती प्रदेशमा एमालेलाई यसपटक यस्तो धक्का (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २३ गते १७:५२
बागमती प्रदेशमा एमालेलाई यसपटक यस्तो धक्का (भिडियो रिपोर्टसहित)

२३ मंसिर २०७९ मकवानपुर । बागमती प्रदेशमा यस अघि स्पष्ट बहुमत ल्याएको एमालेलाई यसपटक ठूलै धक्का लाग्यो । प्रत्यक्षमा १२ सिट जितेको एमाले सत्ताको दौडबाट बाहिरिँदा सत्ता गठबन्धनमा भने मुख्यमन्त्री बनाउने माथापच्ची सुरु भएको छ ।

प्रदेश सरकार गठनको कसरत सुरु हुँदा मुख्यमन्त्रीका आकांक्षीको संख्या अधिक छ । बागमतीमा अब मुख्यमन्त्री को बन्लान रु कसको पल्ला भारी होला ?

नेपाली कांग्रेसका ईन्द्र बानियाँ, नेकपा माओवादी केन्द्रका शालिग्राम जम्कट्टेल र एकीकृत समाजवादीका कृष्ण शर्मा खनाल बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने प्रमुख नामहरु हुन् । गठबन्धनले बहुमत पाएको अवस्थामा बागमतीमा अब मुख्यमन्त्री कसले पाउने भन्ने प्रतिष्पर्धा छ ।

२४ सिट जितेको कांग्रेस केन्द्रमा पनि ठूलो दल र बागमतीमा पनि धेरै सिट जितेकाले ईन्द्र बानियाँले मुख्यमन्त्री आफैं हुने दाबी गर्दै आउनुभएको छ । बागमती प्रदेशका सभापनि समेत रहेका कांग्रेस नेता बानियाँ मुख्यमन्त्री बन्ने हल्ला यसअघिदेखि नै चलेको थियो । प्रदेशमा एमालेको सरकार ढलेपछि एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र बानियाँ बीच आधाआधा मुख्यमन्त्री बन्ने सहमती बनेको भएपनि पाण्डेले बानियाँलाई मुख्यमन्त्री छाड्नु भएन । त्यसैले पनि मकवानपुर २–२ बाट विजयी बानियाँलाई स्वभाविक दाबेदार मानिएको छ ।

तर पनि कांग्रेसमै नुवाकोट २(२ बाट विजयी बहादुरसिंह लामा पनि दाबेदार हुनुहुन्छ । प्रधानमन्त्री देउवा निकट लामा प्रतिनिधिसभामा प्रतिष्पर्धा गर्न चाहन्थे तर मुख्यमन्त्रीको आश्वासन पाएका कारण प्रदेशमा झरेको बताइएको छ । कांग्रेसबाट मुख्यमन्त्री को बन्ने भन्ने एकिन छैन ।

त्यस्तैसत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्री बन्ने दाउमा हुनुहुन्छ । बागमतीमा मुख्यमन्त्री बन्ने पालो माओवादीको भएको तर्क गर्दै धादिङ १–२ बाट निर्वाचित जम्कट्टेल मुख्यमन्त्रीको कसरतमा हुनुहुन्छ । दुईपटक प्रदेशमन्त्री भइसकेले जमकट्टेल मुख्यमन्त्री पाउने दाउमा हुनुहुन्छ ।

मकवानपुर २ (१) बाट निर्वाचित माओवादीकी कुमारी मोक्तान पनि मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ । मोक्तान हाल प्रदेशको सामाजिक विकास मन्त्री हुनुहुन्छ । माओवादीले प्रदेशमा हालसम्म १४ वटा सिट जितेको छ ।

त्यस्तै गठबन्धनको अर्को घटक एकीकृत समाजवादीमा पनि मुख्यमन्त्रीकोआकांक्षी छन् । सानो दल भएपनि पार्टीका नेता कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्रीको आकांक्षी हुन्। खनाल चितवन १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो। प्रदेशमा समाजवादीले हालसम्म ५ सिट जितेको छ।

बागमतीमा गठबन्धन कै सरकार बन्ने निश्चित भएपनि मुख्यमन्त्री भने कसले पाउने हो त्यो संघीय सरकारको भागबण्डाले पनि फरक पार्नेछ । तर गठबन्धनका तिनै दलले मुख्यमन्त्री दावी गरिरहँदा, दुईवटा दल नमिली सरकार गठन नै नहुने अवस्थामा कसरी गठबन्धनको भागबण्डा मिल्ला त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्