संसदबाट प्रधानन्यायाधीश राणाले पाए ‘क्लिन चिट’, आजै सर्वोच्च जाँदै

२१ मंसिर २०७९ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले राणालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएसंगै उहाँविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको हो ।
पुरानो संसद्को कार्यकाल सकिएर संसद्मा नयाँ सदस्य निर्वाचित भएसँगै राणालाई महासचिव गौतमले पत्र पठाउनु भएको हो । राणाले संसद सचिवालयमा निवेदन दिनु भएको थियो । प्रधानन्यायाधीश राणाले संसदको पत्र आफूले पाएको र महाअभियोग निष्क्रिय भएसँगै आजै अदालतमा हाजिर हुने बताउनुभयो ।
प्रधानन्यायाधीश राणाले मंसिर २७ गते अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । राणाविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।
महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो । तर ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेश गरेको र छिनोफानो हुनुअघि नै तत्कालीन प्रतिनिधिसभा विघटन भयो ।
जसकाकारण राणाविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको थियो। तर गत असोजमा मात्र संसदले गठन गरेको महाअभियोग छानबीन सिफारिस समितिले उहाँलाई महाभियोग लगाउन सिफारिससहित सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो।
महाअभियोग प्रस्ताव तत्काल पारित हुन सक्ने स्थिति नदेखिएपछि प्रस्तावलाई ढिलोगरी संसदमा पेश गरिएको थियो । तर यसको छिनोफानो टुंगो नलागि तत्कालीन प्रतिनिधिसभाको कार्यकाल अन्त्य भएको थियो ।
प्रतिक्रिया