राजनीति

जसपा : एमालेसँग सहकार्य सकिएको घोषणासँगै सत्ता गठबन्धनतिर झुकाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १९ गते २०:५९
जसपा : एमालेसँग सहकार्य सकिएको घोषणासँगै सत्ता गठबन्धनतिर झुकाव (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनले नयाँ सरकार बनाउन छैठौं दलको भर खोजिरहेका बेला जनता समाजवादी पार्टीले साथ दिने संकेत गरेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका छन् । चुनावअधि अप्रत्याशित कित्ता परिवर्तन गरेको जसपाले अन्तिम परिणाम नआउँदै फेरि चक्मा दिन लागेको त होइन भन्ने आशंका गर्न थालिएको छ ।

असोज २१ गतेसम्म सत्तारुढ गठबन्धनमा रहेको जसपाले चुनावी मनोनयनको अघिल्लो दिन अर्थात् असोज २२ गते एमालेसँग १४ जिल्लामा चुनावी सहकार्य ग¥यो । एमालेले उसलाई प्रतिनिधिसभाका १७ र प्रदेशसभाका ४२ सीट दियो । चुनावी तालमेलका कारण दुबै दलले विशेषतः मधेस प्रदेशमा राम्रो नतिजा ल्याए । एमाले त मधेसमा पहिलो शक्ति नै बन्यो ।

एमालेसँगको सहकार्यका कारण जसपाले पनि प्रदेश १ को सुनसरी–१ सहित मधेसका ६ क्षेत्रमा चुनाव जित्यो । उसले समानुपातिकमा पनि कम्तिमा ५ सीट पाउँदैछ । दुबैतर्फ गरी प्रतिनिधिसभामा जसपाको १२ सांसद हुँदैछन् ।

सत्तारुढ गठबन्धनका पाँच दलको अधिकतम् १३६ सीट हुने संभावना छ । जवकि, सरकार बनाउन १३८ सीट चाहिन्छ । सामान्य बहुमतका लागि कम्तिमा २ सांसद नपुगेका बेला जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार विरागनगरबाट एमालेसँगको सहकार्य टुंगिएको घोषणा गरेका हुन् ।

एमालेसँग सहकार्य तोड्ने बताएका यादवले सरकार यात्राबारे मुख चाहिँ खोलिसकेका छैनन् । सधैं शक्तिमा रहन चाहाने यादव आफूले चुनाव हारेपनि पार्टीलाई सरकारमा पठाएर सरकारी स्रोत–साधनमा अंशियार बन्ने सोचमा पुगेको बताइन्छ । जसपाले एमालेसँगको सहकार्यबारे अर्को निर्णय नगर्दासम्म अध्यक्षको धारणालाई व्यक्तिगत मान्नुपर्ने बताउने नेताहरु त्यसबारे पार्टीमा पर्याप्त छलफल हुने औंल्याउँछन् ।

यादवको संसद अनुपस्थितिमा जसपाको संसदीय दलको नेता अशोक राई हुने संभावना छ । एमालेका पूर्व उपाध्यक्ष राई एमालेकै गुनगान गाएर उसकै सहयोगमा चुनाव जितेका छन् । र, उनी एमालेसँगको सहकार्य कायम राख्ने पक्षमा देखिन्छन् । चुनावी नतिजा आइनसक्दै, तालमेलको बस्तुनिष्ठ समीक्षा नै नगरी कुनै पनि जिम्मेवार नेताले हचुवाको भरमा टिप्पणी गर्नु नहुने राईको पनि भनाइ छ ।

सत्तारुढ गठबन्धनले सरकार बनाउन जनमत पार्टीको भरथेग खोजिरहेको छ । प्रधानमन्त्रीसहित कांग्रेसका नेताले सो पार्टीका अध्यक्ष सीके राउतसँग तारन्तार भेटिरहेका छन् । जसप्रति उपेन्द्रको चित्त बुझेको छैन । आफैंलाई हराएका सीके राउतको सत्तारोहण यादवका लागि प्रिय विषय हुँदै होइन ।

राउत नेतृत्वको पार्टी सरकारमा गए मधेसमा आफू थप कमजोर हुने भयले गाँज्दा यादव फेरि सत्ता गठबन्धनसँग सम्बन्ध सुधार्न चाहान्छन। र, त्यही प्रयासको प्रस्थान विन्दू उनको अभिव्यक्ति हो भन्ने ठानिएको छ । बहुमतमा रहेका यादवले पार्टीबाट एमालेसँगको सहकार्य सकिएको निर्णय गराउन त सक्छन् । तर, त्यसले संघीय परीषद्का अध्यक्ष राईसँगको दूरी बढाउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्