राजनीति

माओवादीको अनौठो प्रस्ताव : हुने तेस्रो, चाहिने सरकारको नेतृत्व (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर १८ गते २०:५६
माओवादीको अनौठो प्रस्ताव : हुने तेस्रो, चाहिने सरकारको नेतृत्व (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७९ काठमाडौं । भर्खरै सम्पन्न निर्वाचनको परिणाम अनुसार माओवादी केन्द्र संसदको तेस्रो शक्ति बनेको छ । पहिलो शक्ति नेपाली कांग्रेस र दोस्रो नेकपा एमाले हुँदा माओवादी केन्द्रले अघिल्लो निर्वाचनभन्दा कम सीट जिते पनि तेस्रो शक्ति नै बन्यो ।

संसदमा तेस्रो शक्ति रहेको माओवादीले जसरी पनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्न थालेको छ । आलोपालो सरकारको नेतृत्व गर्ने अवस्थामा पहिलो पालो आफ्नो हुनुपर्ने माओवादी केन्द्रको भनाइ छ । तेस्रो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भनेर अत्तो थाप्नु न्यायोचित र स्वभाविक हो त भन्ने प्रश्न पनि उठेको छ ।

२ हजार ७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट नेकपा एमाले र माओवादी केन्द्रको बहुमत पुगेको थियो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नु भएको थियो । सरकारको नेतृत्व गरेको दुई वर्ष नपुग्दै माओवादी केन्द्रका अध्यक्ष एवं तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार साँढे दुई वर्षपछि आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्नु भएको थियो तर त्यतिबेला ओलीले सरकारको नेतृत्व छाड्न मान्नु भएन् ।

बरु विवाद बढ्दै गएर नेकपा पार्टी नै विभाजन भयो । लगत्तै सर्वोच्च अदालतको आदेशमा ओली सरकार ढल्यो र शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भयो । यही पृष्ठभूमिमा कांग्रेस नेतृत्वको गठबन्धनमा आइपुगेको माओवादी केन्द्रसहित चार दल चुनावी मैदानमा होमिए । कांग्रेसकै नेतृत्वलाई स्वीकार गर्दै निर्वाचनमा होमिएर ३० सिटको वरिपरिमा सिमित गरेका माओवादी केन्द्रले अहिले नयाँ सरकारको पहिलो नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

कांग्रेसलाई पनि आफ्नै नेतृत्वमा सरकार बनाउन हालको सत्ता गठबन्धनकै घटकहरुको आवश्यकता पर्छ । तर, तेस्रो शक्ति बनेको माओवादी केन्द्रलाई फकाएर गठबन्धन टुटाउँदै सरकारमा पुग्ने दाउमा एमाले पनि देखिन्छ । यसरी दुई ठूला दल आमने–सामने हुँदा माओवादी केन्द्र थोरै सिट भएपनि निर्णायक जस्तो बनेको छ । त्यसैले उ एक–अर्कालाई देखाउँदै सत्ताको वागडोर सम्हाल्ने दाउमा छ ।

२०५१ सालको मध्यावधि निर्वाचनपछि राप्रपाकै भूमिकामा यतिवेला माओवादी देखिएको टिप्पणी हुन थालेको छ । आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए कांग्रेस नेतृत्वको गठबन्धनबाटै अलग भएर नेकपा एमालेसंग मिल्न तयार रहेको संकेत समेत माओवादी केन्द्रले गरिसकेको छ । शनिवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णय नै गरेर सरकार गठनका लागि सबै विकल्प खुल्ला गरेको छ ।

माओवादी केन्द्रको माओवादी केन्द्रको निर्णयलाई आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उद्देश्यले भन्दा पनि कांग्रेसलाई दबावमा राख्ने र भागबन्डामा आफ्नो बार्गेनिङ शक्ति बलियो बनाउने उद्देश्य हुन सक्ने अनुमान गरिएको छ ।

माओवादी केन्द्र स्थिर सरकारको नारा लिएर मतदाता समक्ष गएको थियो तर निर्वाचित भएर आए लगत्तै तेस्रो दलले सरकारको नेतृत्वको दाबीले स्थिरता भन्दा अस्थिरतातर्फ देशलाई धकेल्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्