राजनीति

अबको संसदमा कसरी रहलान् स्वतन्त्र सांसद ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर ११ गते २१:२०
अबको संसदमा कसरी रहलान् स्वतन्त्र सांसद ? (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५ जना स्वतन्त्र उम्मदेवार निर्वाचित भएका छन् । तर निर्वाचित भएका स्वतन्त्रहरु राजनीतिक रुपमै भने स्वतन्त्र होइनन् ।

कुनै पार्टी परित्याग गरेर अरु कुनै उदेश्य बोकेका वा बागी उम्मेदवारी दिएकाहरु नै स्वतन्त्र रुपमा विजयी भएका छन् । यसरी विजयी भएका स्वतन्त्र सांसदहरु अबको संसदमा कसरी रहलान् त ?

गत स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले बाजी मारेपछि यसपटकको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या ह्वात्तै बढ्यो । पार्टीले टिकट नदिएपछि बागी लड्ने पुरानो प्रवृत्तिका बाबजुद कुनै राजनीतिक जग नभएका व्यक्ति पनि आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा होमिए । तर स्थानीय तह निर्वाचनमा जसरी अनुमोदित हुन सकेनन् । यद्यपि निर्वाचन आयोगको रेकर्डमा स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता भएका ५ जनाले बाजी मारे । यो निर्वाचनमा प्रतिनिधिसभा तर्फ मात्रै ८ सय ६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

स्वतन्त्र रुपमा विजयी हुनेमा सर्लाही- ४ बाट अमरेशकुमार सिंह, रौतहट– ३ बाट प्रभु साह, रौतहट– २ बाट किरणकुमार साह, बर्दिया– २ बाट लालवीर चौधरी र मोरङ( ५ बाट योगेन्द्र मण्डल हुनुहुन्छ। विजयी भएकामध्ये अमेरशकुमार सिंह कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लड्नु भएको हो । सप्तरी(४ मा कांग्रेसले पूर्व सांसदसमेत रहेका सिंहलाई टिकट नदिएर नागेन्द्र कुमारलाई दिएको थियो ।

उता मोरङ– ५ बाट स्वतन्त्र रुपमा विजयी भएका मण्डल एमालेले टिकट नदिएपछि बागीका रुपमा उम्मेदवार बन्नु भएको हो । यो क्षेत्रमा अघिल्लो दिनसम्म मण्डललाई नै टिकट दिने तयारी गरेको एमालेले अन्तिम समयमा जसपाका उम्मेदवारलाई समर्थन गर्न उहाँको टिकट खोसेको थियो ।

रौतहट–३ बाट जितेका प्रभु साह भने एमालेले दिएको टिकट गोजीमा लुकाएर स्वतन्त्र उम्मेदवार बन्नु भएको हो । यस्तै रौतहट– २ बाट विजयी भएका किरण कुमार साह पनि प्रभु साहकै जसरी एमालेको टिकट गोजीमा थन्क्याएर स्वतन्त्र रुपमा चुनावी मैदानमा भिड्नु भएको हो ।

बर्दिया– २ बाट निर्वाचित लालवीर चौधरी छोरा रेशम चौधरीले चुनाव लड्न नपाएपछि स्वतन्त्र उम्मेदवार बन्नु भएको हो । नागरिक उन्मुक्ति पार्टीका नेता लालवीर चौधरीले पार्टीको टिकट लिएर उम्मेदवार बन्ने समय नभएपछि स्वतन्त्र उम्मदेवार बन्नुभयो। निर्वाचित भए लगत्तै उहाँले नागरिक उन्मुक्ति पार्टीमै समाहित हुने संकेत गरिसक्नु भएको छ ।

मधेस प्रदेशका ८ वटै जिल्लाको टिकट आफ्नो नियन्त्रणमा लिन चाहेका प्रभु साहलाई एमालेले विश्वास नगरेपछि आफैँले समेत एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवार बन्नुभयो । मधेसको सर्वशक्तिमान नेता बन्ने ध्याउन्नमा रहेका साह फेरि माओवादीमा फर्किने चर्चा छ ।

रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित किरणकुमार साह प्रभु साह निकट नेता हुनुहुन्छ । साहसँगै एमालेको टिकट त्यागेका किरण कुमार साहले अब प्रभु साहले तय गर्ने आगामी यात्राको सहयात्री बन्ने सम्भावना छ ।

सर्लाही– ४ बाट विजयी भएलगत्तै अमरेश कुमार सिंहलाई एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेस नेताहरुले फोन गरेर बधाई दिँदै आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । तर, अहिले नै कुनै पार्टीमा जाने योजना नरहेको सिंहको दाबी छ । त्यसो त मोरङ५ बाट निर्वाचित योगेन्द्र मण्डल पनि अब स्वतन्त्र उम्मेदवारहरुकै योजना र सहकार्यमा अघि बढ्ने बताउनुहुन्छ । उहाँ तत्काल एमालेमा फर्किने वा अरु पार्टीमा प्रवेश गर्ने विषयमा अनिर्णित देखिनुहुन्छ । यद्यपी लामो समय पार्टीको राजनीति गरेका सिंह र मण्डल पनि स्वतन्त्र रुपमै रहिरहने सम्भावना न्यून देखिन्छ । यसकारण आगामी संसदमा स्वतन्त्र रुपमै रहेका सांसदको संख्या भने शून्य हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्