राजनीति

सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास

२०७९ मंसिर १० गते २१:४९
सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास

१० मंसिर २०७९ काठमाडौं । राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ ।

मधेस केन्द्रित राजनीति गर्दै आउनुभएका महिन्द्रराय यादव र राजेन्द्र महतोको हकमा पनि त्यस्तै भएको छ । प्रतिनिधिसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा तराई मधेसमा यी दुई नेता एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीका रुपमा खडा हुनुभएको थियो ।

सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएका महतो र कम्युनिष्ट पार्टीबाट अगाडि बढ्नुभएका यादव कुनै समय एउटै पार्टीमा आबद्ध हुनुहुन्थ्यो । घटनाक्रमले उहाँहरुलाई एकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपर्ने अवस्था सिर्जना गरिदियो । त्यसमा यसपटक यादवले आफूलाई श्रेष्ठ सावित गरेर जित निकाल्नुभयो । तत्कालीन राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका छ सदस्यमध्ये उहाँहरु दुवै हुनुहुन्थ्यो । प्रकारान्तरणले सो पार्टी विभक्त भयो । जनता समाजवादी पार्टीका रुपमा नेपाली राजनीतिमा अगाडि बढिरहँदा यादवले डा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई साथ दिनुभयो । महतो भने तराई मधेसका अर्का नेता महन्थ ठाकुरसँगै रहनुभयो ।

पछिल्लो पटक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा विवाद सुरु भएपछि महिन्द्रले डा भट्टराईसँगै रहने निर्णय गर्नुभयो । यस पटकको निर्वाचनमा डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि नेकपा(माओवादी केन्द्र)को निर्वाचन चिह्न हसिया हथौंडालाई नै रोज्यो ।

सत्तागठबन्धमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी थियो । त्यस पार्टीका नेता हुनुहुन्थ्यो महत्तो । यता यादव पनि नेपाल समाजवादी पार्टीका तर्फबाट भएपनि वाम–लाकतान्त्रिक गठबन्धनमा आबद्ध हुनुहुन्थ्यो । जनतामा मत माग्न जाँदा प्राप्त हुने नजितालाई स्वीकार गर्नुको विकल्प छैन । यस्तै भयो महतो र यादवका हकमा पनि ।

हसिया हथांैडा चिह्नमा सर्लाही क्षेत्र नं २ बाट उम्मेदवार रहनुभएका यादवले २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता महतोले २१ हजार पाँच सय १८ प्राप्त गर्नुभयो । यसअघि विसं २०७४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि यादवले सर्लाही क्षेत्र नं २ बाटै विजयी हुनुभएको थियो ।

यादवले २०५१ को निर्वाचन र २०५६ मा नेकपा(एमाले)बाट सर्लाहीबाटै निर्वाचित हुनुभएको थियो । विसं २०६४ को संविधानसभा सदस्यमा यादवले सर्लाहीबाट निर्वाचित हुनुभएको थियो । दोस्रो संविधानसभामा पनि उहाँ सर्लाही क्षेत्र नं ४ बाट विजयी हुनुभएको थियो ।

उहाँले विसं २०५४ मा राज्यमन्त्री, २०६४ सालमा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । कृषि र अर्थतन्त्रमा विशेष रुची रहेको यादवले राजनीतिक आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र थुनामा पर्नुभएको छ । वसन्तपुर सर्लाही स्थायी ठेगाना रहेको उहाँले पिछडिएको समदाय र अल्पसङ्ख्यकको अधिकारका लागि लडिरहने नेताका रुपमा आफूलाई परिचित गराउनुभएको छ । उहाँले राज्यका तर्फबाट संविधानसभा पदक प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्