Main News

शीर्षहरुकै सातो जाने, अप्रत्यासित नतिजा काठमाडौंमा कसरी सम्भव भयो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर ८ गते २१:१३
शीर्षहरुकै सातो जाने, अप्रत्यासित नतिजा काठमाडौंमा कसरी सम्भव भयो ? (भिडियो रिपोर्टसहित)

८ मंसिर २०७९ काठमाडौं । प्रतिनिधिसभाका १० निर्वाचन क्षेत्र भएको संघीय राजधानी काठमाडौंकामा यसपटक अप्रत्यासित नतिजा आयो ।

२०७४ सालको निर्वाचनमा ६ सिटमा विजयी भएको नेकपा एमाले एक सिटमा खुम्चिँदा भर्खर मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले चार स्थानमा शानदार जित हात पार्‍यो । अप्रत्यासित नजिता काठमाडौंमा कसरी सम्भव भयो ?

काठमाडौंका १० मध्ये पाँचवटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, चार वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एकमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुँदा नेकपा एमाले र माओवादी केन्द्र भने खुम्चिएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, ३, ४, ५ र १० मा कांग्रेसका उम्मेदवार विजयी हुँदा क्षेत्र नम्बर २, ६, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जित निकाले । ९ मा भने एमालेका कृष्णगोपाल श्रेष्ठ नै दोहोरिनु भयो ।

यस निर्वाचनमा काठमाडौंका मतदाताले नेकपा एमालेलाई ठूलै धक्का दिएका छन् भने माओवादीलाई त अस्वीकार नै गरिदिँएका छन् । प्रत्यक्षतर्फ स्वतन्त्र पार्टीले राम्रै मत प्राप्त गर्दा समानुपातिक तर्फको जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति पनि राम्रो देखिएको छ । त्यसो त काठमाडौं १ मा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र कांग्रेस उम्मेदवार प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित हुनु भएको थियो ।

काठमाडौंमा ठूला दलको पराजयलाई नीति, विचार र सिद्धान्त त्याग गरेको परिणामको रुपमा विश्लेषण भैरहेको छ । नेतृत्वले निष्ठा र सिद्धान्त त्यागेपछि मतदाताले विद्रोह गरेका रुपमा यो मतपरिणामलाई हेरिएको छ ।

दलहरुले सुशासन दिन नसकेको र प्रतिद्धबता पुरा नगरेका कारण नयाँ दलहरुबाट केही हुन्छ कि भन्ने आशमा मतदाताले नँया दललाई रुचाएको अर्थ पनि लगाइएको छ । मधेस प्रदेशमा जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीले प्राप्त गरेको मतलाई पनि यही रुपमा विश्लेषण गरिएको छ ।

नयाँ पार्टीले आफैले पनि अपेक्षा गरेभन्दा धेरै जित निकाल्दा उनीहरुमा स्वभाविक रुपमा हौसला बढेको देखिन्छ । तर पुराना भनिएका दलहरुले यो नतिजालाई चुनौतीका रुपमा हेर्ने भन्दा पनि पार्टीभित्रको अन्तरघात वा तालमेलमा इमान्दारिता नदेखाएको रुपमा बुझिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त सत्तारुढ दलले सत्ता र शक्तिको दुरुपयोग भएको भन्नसमेत भ्याउनु भएको छ । यो परिणामबाट अतालिएर दलहरुले कसैलाई आरोप प्रत्यारोप गर्नेभन्दा पनि सिकाइका रुपमा लिनुपर्ने जानकारहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *