Main News

भक्तपुर क्षेत्र नं १ मा एमाले, २ मा कांग्रेसको अग्रता कायमै

हिमालय टिभी
२०७९ मंसिर ६ गते २१:०८
भक्तपुर क्षेत्र नं १ मा एमाले, २ मा कांग्रेसको अग्रता कायमै

६ मंसिर २०७९ भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा आज साँझ ७ः३० बजेसम्मको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय ५६ मतले पछाडि पार्दै अग्रता कायम राख्नुभएको छ ।

भक्तपुर जिल्लामा दुई निर्वाचन क्षेत्रमध्ये सबैको चासो रहेको भक्तपुर क्षेत्र नं २ मा आज साँझ ७ः३० बजेसम्ममा ४३ हजार एक सय ३० मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १६ हजार तीन सय ८० मतले अग्रता कायम राख्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बस्नेतले १५ हजार सात सय ३५ मतले पछ्याइरहनुभएको छ ।

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले तीन हजार नौ सय चार, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले दुई हजार सात सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार छ सय २५ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।

क्षेत्र नं १ को मतपरिणाम
त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज गेलालले सात हजार ६०२ मतले अग्रता लिनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले पाँच हजार आठ सय ५९ मतले पछ्याइरहनुभएको छ ।

क्षेत्र नं १ मा २३ हजार दुई सय ३३ मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले पाँच हजार दुई सय २७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल गोठे वासुले दुई हजार छ सय ७१ मत ल्याएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

प्रदेशसभातर्फ
त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं २ (१) मा आज मतगणना हुँदा एमालेका उम्मेदवार किरण थापामगरले छ हजार नौ सय ६६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । उहाँका नकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले पाँच हजार सात सय ५६ मतले पछ्याइरहनुभएको छ ।

त्यस्तै राप्रपाका विक्रम थापाले दुई हजार ६४ र नेमकिपाका सरोजराज गोसाईंले एक हजार एक सय ६१ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी रहेको छ ।

प्रदेशसभातर्फ क्षेत्र नं २ (२) मा नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य दुई हजार नौ सय २० मतले अग्रता लिनुभएको छ भने नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले तीन हजार दुई सय २१, एमालेका चन्दनकृष्ण श्रेष्ठले तीन हजार एक सय ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चकृष्ण श्रेष्ठले एक हजार दुई सय ७९ ल्याउनुभएको छ ।

त्यस्तै चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणना हुँदा क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठले सात हजार दुई सय ५६ मतले अग्रता लिनुभएको छ भने एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठले छ हजार दुई सय ४१, नेपाल मजदुर किसान पार्टी मीनबहादुर बाटाले तीन हजार पाँच सय ८८ र राप्रपाका राजु कुइँकेलले चार हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *