Main News

राउटेलाई मताधिकार खोइ ? (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २८ गते २१:०९
राउटेलाई मताधिकार खोइ ? (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७९ दैलेख । घरदेखि चियापसलसम्म जता गए पनि चुनावकै चर्चा छ । यतिसम्म की नागरिकता नबन्दा मताधिकार प्रयोग गर्न नपाएका फिरन्ते जीवन बिताउने राउटे समुदायको बस्तीमा पनि अछुतो छैन । तर भोट हाल्ने मन भएपनि नागरिकता नहुँदा वञ्चित उनीहरूका लागि निर्वाचन आकाशको फल हुने गरेको छ ।

दैलेख सदरमुकाम नजिक १ सय ४३ जनाको संख्यामा राउटे समुदाय बसोबास गर्छन् । यी सबैलाई गुराँस गाउँपालिकाले २०७५ को साउनमा परिचयपत्र वितरण गरेर सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर, यी सबै अझै पनि अनागरिक हुन् ।

उनीहरू कसैसँग नागरिकता छैन । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आउन एक साता बाँकी रहँदा राउटे समुदायमा पनि चुनावी चर्चा चुलिएको छ । नागरिकता बनाइदिने आश्वासन पटक–पटक दिए पनि नागरिकता बन्न नसकेका उनीहरू अबको पाँच वर्षपछि चाहिँ भोट हाल्न पाइन्छ कि भन्ने अपेक्षामा छन् ।

हरेक २–३ महिनामा बस्ती सर्दै हिड्ने राउटे समुदाय दैलेख, सुर्खेत, सल्यान आसपासमै फिरन्ते जीवन बिताइरहेका छन् । जहाँ गएपनि मत दिन पाए अनागरिकको महसुस गर्नुनपर्ने उनीहरूको भनाई छ । पढ्न, लेख्न र खेती गर्न हुँदैन भन्ने मान्यताबाट ग्रस्त उनीहरू मत चाहिँ हाल्न पाइन्छ कि भन्ने आशमा हुने गरेका छन् ।

राउटेको जीवन शैली सुधार सहयोगको काम गरिरहेको सोसेकले व्यक्ति सरसफाई र सुरक्षित बासको व्यवस्थापन गर्दै आएको छ । आगामी चुनावसम्म भने मतदाता नामावली भराउने सोसेकले योजना बनाएका छ ।

सरकारले राउटे समुदायलाई मासिक सामाजिक सुरक्षा भत्ताबाहेक अरु सहयोग गरेको पाइँदैन । हरेक बालिग नेपालीका लागि सुरक्षित मताधिकारको संविधानप्रदत्त हक लोपोन्मुख राउटे समुदायका लागि भने नौलो विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *