Main News

दलहरुको घोषणा पत्रमा पर्यटनको बहार, न आधार न पूर्वाधार (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २७ गते २०:३५
दलहरुको घोषणा पत्रमा पर्यटनको बहार, न आधार न पूर्वाधार (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०७९ काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन घोषणापत्र मार्फत पर्यटन क्षेत्रलाई विशेष प्रथामिकतामा राखेका छन् ।

गुणस्तरीय पर्यटकको संख्यामा वृद्धि गर्दै पर्यटकको संख्या वार्षिक २५ देखि ३० लाखसम्म पुर्‍याउने लक्ष्य दलहरुको छ । तर पर्यटन व्यवसायीहरुले भने पर्यटक आगमनको लक्ष्य मात्रै तोक्नुभन्दा पनि वातावरण बनाउनेतर्फ दलहरुको ध्यान जानुपर्ने आवश्यकता महसुश गरेका छन् ।

नेकपा एमालेले चुनावी घोषण पत्रमा आगामी पाँच वर्षभित्र गुणस्तरीय पर्यटकको संख्यामा वृद्धि गर्दै वार्षिक २५ लाख विदेशी पर्यटक भित्र्याउने प्रतिबद्धता जनाएको छ। यस्तै नेपाली कांग्रेसले चुनावी संकल्पपत्रमा आगामी पाँच वर्ष भित्र वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

नेकपा माओवादी केन्द्रले त अझ पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना बनाएको छ । कोरोना महामारीअघि सन् २०१८ र २०१९ मा वार्षिक सरदर १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यो संख्यालाई बढाएर २५ देखि ३० लाखसम्म पुर्‍याउने लक्ष्य दलहरुले लिएका छन् ।

उसो त २०७४ को निर्वाचनमा त दलहरुले घोषण पत्रमार्फत वार्षिक ३५ देखि ५० लाखसम्म पर्यटक पुर्‍याउने लक्ष्य राखेका थिए ।

दलहरुले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा आर्जन गर्ने योजनालाई चुनावी घोषणा पत्रमा समावेश गरेका छन् । तर त्यसका लागि मुलुकभित्र गुणस्तरीय र आवश्यक पूर्वाधारको विकास भइनसकेको गुनासो व्यवसायीहरुको छ ।

पर्यटन नेपालका लागि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो । पर्यटन क्षेत्रबाट कोरोना महामारीअघि वार्षिक ७० अर्ब रुपैयाँ आम्दानी हुने गरेको थियो । तर अहिले यो आम्दानी २० देखि २५ अर्बमा सिमिति छ ।

वार्षिक २५ लाख पर्यटक ल्याउने हो भने आम्दानी करिब ३ खर्ब पुग्ने देखिन्छ । तर त्यसका लागि सबैभन्दा ठूलो बाधक भनेकै पूर्वाधार रहेकाले स्रोत बजारमा बजारीकरण, हवाई उडान विस्तार र पर्यटकमैत्री वातावरण बनाएर समन्वयकारी भूमिका खेल्न सक्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *