ओलीको सक्रियता : सेल्फी पार्कदेखि नाइट क्लबसम्म (भिडियो रिपोर्टसहित)
१९ कात्तिक २०७९ काठमाडौं । निर्वाचनको मिति नजिकिएसंगै शीर्ष नेताहरुको दौडधुप बढी नै भइरहेको छ । त्यसमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त दिनमा मात्रै नभएर रातमा पनि सक्रिय हुनुहुन्छ ।
मतदातालाई प्रभावमा पार्न अनेक प्रयोग गरिरहेका ओली शुक्रबार राति काठमाडौंको एक रात्रि क्लबमै पुग्नु भयो र युवाहरुसँग झुम्नु भयो ।
एक जमाना थियो, पार्टीका नेताहरु निर्वाचनको समयमा आमसभामा भाषण गर्ने र चुनावी र्यालीहरुमा मात्रै पुग्ने । नाम र चर्चा मात्रै सुनिएका केन्द्रीय नेता आउँदा ठूलो भिड लाग्थ्यो । नेतालाई देख्ने र हात मिलाउने रहरमा सयौँ व्यक्ति कयौँ कोष टाढाबाट सभास्थलमा पुग्थे ।
अहिले जमाना बदलिएको छ । नेताको अनुहार हेर्न र आवाज सुन्नलाई यसरी धाइरहनु पर्दैन । आम सञ्चारका माध्यम र सामाजिक सञ्जालमा जति पनि देख्न र सुन्न पाइन्छ । त्यतिमात्र होइन कतिपयसँग त साक्षात्कारसमेत गर्न पाइन्छ । प्रविधिले स्मार्ट बनिरहेको र नेताका पछाडि लाग्न नरुचाउने पुस्ताका लागिसमेत अहिले एमाले अध्यक्ष ओलीले विभिन्न उपाय अपनाएर आकर्षण बढाउने प्रयास गरिरहनु भएको छ ।
केही दिनअघि गृहजिल्ला झापामा हुँदा ‘सेल्फी विद ओली’ चलाएका ओलीले शुक्रबार राति रात्रिक्लबमा रमाइरहेका युवाहरुलाई भेट्न मध्य रातमा ठमेल पुग्नुभयो ।
पूर्व राजा ज्ञानेन्द्र बेला बेला गइरहने यो क्लबमा सयौँको भिडमा ओलीले एमालेको चुनावी र्याप गीत सार्वजनिक समेत गर्नुभयो ।
ओली नयाँ पुस्ताका मतदातासँग पुग्न अनेक उपायहरु गरिरहनुहुन्छ । फेसबुक तथा टिकटकमा उत्तिकै सक्रिय ओली प्रविधि र युगअनुसारका अभ्यासमा भिज्न माहिर हुनुहुन्छ ।
ओलीले गरेका केही फरक अभ्यास
कात्तिक १५ गते डिजिटल प्रविधिबाट पार्टीको घोषणापत्र सार्वजनिक
कात्तिक १८ गते दार्चुलाबाट आमसभा गरी निर्वाचन अभियान सुरु
कात्तिक २४ गते झापामा मतदातासँग सेल्फी कार्यक्रम
कात्तिक २५ गते राति काठमाडौंको रात्रिक्लबमा उपस्थित
दैनिकजसो सामाजिक सञ्जालमा सक्रिय
हरेक दिन सूर्योदयको तस्बिर सामाजिक सञ्जालमा पोष्ट
प्रधानमन्त्रीसँग बहसका लागि सार्वजनिक आह्वान
आम शुभेच्छुकसँग टेलिफोनमा कुराकानी
निर्वाचनको समयमा कतिपय नेता र उम्मेदवारहरुले आफूलाई औपचारिकताको घेराभित्र राखिरहेको देखिन्छ । तर ओली जसरी पनि मतदाता प्रभावित पार्ने गरी निकै अनौपचारिक र व्यवहारिक बन्ने प्रयासमा हुनुहुन्छ ।
सरकारको नेतृत्व गरिरहँदा आफ्नै पार्टीका नेताहरुसँग समेत निकै कठोर देखिएका ओलीको यो चुनावी प्रयासको प्रभाव चाँहि कस्तो पर्ला ?
वाककलामा निपूर्ण ओली कस्तो अवस्थामा कसरी प्रस्तुत हुने र नागरिकको ध्यान आफूतर्फ खिच्ने भन्नेमा माहिर हुनुहुन्छ । तर कतिपय अवस्थामा महत्वपूर्ण विषयमा हल्काफूल्का र तथ्यहिन टिप्पणी गर्दा आलोचित हुनु परेको छ ।
कहिल्यै पनि आफूलाई कमजोर नदेखाउने बलियो आत्मबल सहित जितको हुँकार गर्दै चुनावी प्रचारमा होमिएका ओलीलाई प्रचारका लागि गरिएका यी अतिरिक्त अभ्यासले कति साथ दिनेछन् त्यो भने मंसिर चारले नै देखाउने छ ।
प्रतिक्रिया