Main News

नेताको भाषण : एजेण्डा सुनाउनेभन्दा डर देखाएर मत लिने काइदा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २१ गते २१:१७
नेताको भाषण : एजेण्डा सुनाउनेभन्दा डर देखाएर मत लिने काइदा (भिडियो रिपोर्टसहित)

२१ कात्तिक २०७९ काठमाडौं । स्थापित राजनीतिक दलका शीर्ष नेताहरु आफ्नो पार्टीले चुनाव नजिते देश दुर्घटनामा पर्ने अभिव्यक्ति दिएर मतदातामा त्रास उत्पन्न गराइरहेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रचारप्रसारमा खटेका नेताहरु अबको चुनाव आफ्नो पार्टीले नजित्ने हो भने देश दुर्घटना पर्ने वा विदेशी शक्तिको हातमा जाने अभिव्यक्ति दिएर मतदाता धम्क्याउन तल्लीन देखिन्छन् । नेताहरु यस्तो अभिव्यक्ति किन दिन्छन् ?

गत हप्ता काठमाडौं क्षेत्र नम्बर १ को चुनावी सभामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत नल्याए देश दुर्घटनामा जाने अभिव्यक्ति दिनुभयो । किरण पौडेललाई भोट माग्न पुगेका ओलीले भन्नुभयो, ‘अहिले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गरिएन भने, एमालेको एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ, दुर्भाग्य भोग्नुपर्छ ।’

यतिमात्र होइन गठबन्धनले जनमत पाए देशमा लुटतन्त्र मच्चिने र देश कंगाल हुने चेतावनी पनि उहाँले दिनुभयो ।

ओलीले सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजित चुनावी सभाहरुमा सहभागी हुँदा गठबन्धनका नेताहरुले आफूलाई छिमेकी देशहरुसँग मिलेर सत्ताबाट हटाएको र अब पनि एमालेले नजिते देश नै नरहने अभिव्यक्ति दिनुभयो ।

गत कात्तिक ७ गते काठमाडौंमा आयोजित सत्ता गठबन्धनको कार्यकर्ता भेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनाव आफूहरुले नजिते देश दुर्घटनामा पर्ने चेतावनी दिनुभयो ।

त्यसअघि धनगढीमा आयोजित सभामा पनि प्रचण्डले गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने अभिव्यक्ति दिनुभएको थियो । कार्तिक ११ गते धादिङमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरुले नजिते देशले हार्ने, राजावादी र विखण्डनकारीले जित्ने अभिव्यक्ति दिनुभयो ।
चुनाव प्रचारप्रसारका लागि गोरखामा रहँदा प्रचण्डले देश दुर्घटनामा पर्ने अभिव्यक्ति थुप्रै पटक दिनुभयो । त्यसो त स्थानीय तह निर्वाचनमा प्रचण्डले भरतपुर महानगरमा रेनु दाहालले नजित्दा पनि देश दुर्घटना पर्ने बताउनु भएको थियो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ओलीले देश दुर्घटनामा पारेको र आफूहरुले रेस्क्यु गरेको अभिव्यक्ति दिँदै आउनु भएको छ । हरेकजसो कार्यक्रममा उहाँका अभिव्यक्ति ओलीविरुद्ध हुने गर्छन् । देशलाई आफूहरुले संकटबाट जोगाएको नेपालको दाबी सुन्न पाइन्छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सभाहरुमा ओलीलाई प्रतिगामीको आरोप लगाउनुभयो । गठबन्धनले नजिते देश प्रतिगमनमा जाने आशय उहाँका मन्तव्यहरुमा झल्किन्छ । निकै थोरै मात्र बोल्ने देउवा विपक्षीको आलोचना भन्दा आफ्नै पार्टीभित्रका गुटहरुलाई मिलाउने प्रयासमा देखिनुहुन्छ । देउवामा अरुको भन्दै आफ्नैको बढी डर देखिन्छ ।

नयाँ पार्टी तथा स्वतन्त्र उम्मेदवारहरु पनि अहिले आफूहरुले जसरी पनि जित्नुपर्ने नत्र देशमा दुर्भाग्य हुने भन्न थालेका छन् ।

चुनावको समयमा एक–अर्का दलविरुद्ध आगो ओकल्ने र आफ्ना ठूलठूला योजनाहरु सुनाउने संसारको रित नै हो । तर हाम्रोमा नेताहरु कुन हदसम्म पुगिसकेका छन् भने अब आफूहरु सत्तामा नआउने हो भने देश दुर्घटनामा पर्छ, सकिन्छ, विदेशीहरुले कब्जा गर्छन्, फलानो देशको सेना आउँछ समेत भनिरहेका छन् ।

मतदातालाई चरम डर, धम्की र नैरास्यता सुनाएर हतोत्साहित बनाउने अनि भोट आफ्नो पक्षमा पार्ने काइदा नेताहरुले अपनाइरहेको देखिन्छ । वर्षौँदेखि अस्थिरतामा पिल्सिइरहेका र विकासको स्वाद चाख्न नपाएका मतदाता यी अभिव्यक्तिबाट प्रभावित हुनु वा हतोत्साहित हुनु सामान्य नै हो ।

तर प्रतिबद्धताभन्दा बढी डरका अभिव्यक्ति दिने नेताहरुको प्रवृत्ति हतास मानसिकताको उपज हो । आफ्ना र पार्टीका एजेण्डा, कार्यान्वयनको शैली र भावी देशको चित्र देखाउनुको सट्टा आफूहरुले नै जित्नुपर्छ नत्र भने राम्रो हुन्न भन्ने धम्की कमजोर पृष्ठभूमी र झुठा आश्वासनका पुलिन्दाबाट निस्किएको तातो बाफ मात्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *