एमालेले एकल बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी (भिडियो रिपोर्टसहित)

२१ कात्तिक २०७९ पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
पोखरामा आयोजित एमाले कार्यकर्ता भेलामा अध्यक्ष ओलीले कांग्रेसभन्दा एमाले धेरै ठूलो पार्टी बन्ने बताउनुभयो । उहाँले सत्ता गठबन्धनले सर्भेका नाममा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउँछ भनेर भ्रम फिजाइएको बताउनुभयो ।
एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरुलाई सरकारमा सामेल गर्ने ओलीको भनाइ छ ।
कार्यक्रममा ओलीले बन्दुक लिएर सीमामा जान प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको चुनौतीको पनि जवाफ दिनुभएको छ । प्रधानमन्त्री देउवाले डडेलधुरामा आयोजित कार्यक्रममा देउवाले ओलीलाई बन्दुक लिएर सीमा रक्षाका लागि जान चुनौती दिनुभएको थियो ।
त्यसको जवाफमा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संगतले बन्दुकको भाषण गर्दै हिँड्न थालेको भन्दै कटाक्ष गर्नुभयो ।
अध्यक्ष ओलीले भारतले लगाएको नाकाबन्दीका बेला चुइँक्क नबोलेको भन्दै देउवाको आलोचना गर्नुभयो ।
प्रतिक्रिया