राजनीति

मुगुमा चुनावी चहलपहल: उम्मेदवार आश्वासन दिन्छन् काम गर्दैनन् (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २० गते २१:१३
मुगुमा चुनावी चहलपहल: उम्मेदवार आश्वासन दिन्छन् काम गर्दैनन् (भिडियो रिपोर्टसहित)

२० कात्तिक २०७९ मुगु । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मुगुमा पनि चुनावी चहल पहल गर्माएकोछ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन दुई हप्ता मात्रै बाँकी हुँदा मुगुका गाउँ गाउँमा उम्मेदवार मत मागिरहेका छन् ।

हरेक पटकको निर्वाचनमा विकास र समृद्धिको आश्वासन दिने तर बाचा पुरा नहुँदै फेरि मत माग्न आउने प्रवृत्ति दोहोरिएको भन्दै मतदाता अुन्तुष्ट छन् ।

छायाँनाथ रारा नगरपालिका वडा नं १ का गगनबहादुर मल्ल उम्मेरले आठ दशक नाघिसक्नुभयो । नेपालको इतिहासकै पहिलो संसदीय चुनाव विक्रम सम्वत २०१५ सालदेखि नै मतदान गदै आएका मल्ल जितेर गएका कुनै पनि नेताले मुगुको विकासमा चासो नदेखाएको गुनासो गर्नुहुन्छ ।

चुनावी सरगर्मी बढेसँगै उम्मेदवार र उनीहरुका कार्यकर्ता गाउँ गाउँमा भेटिन्छन् । सभा सम्मेल र कोठे बैठकदेखि घरदैलोसम्मै उम्मेदवारहरु आइरहँदा मतदातामा भने उत्साह देखिन्न । सधैं विकासको गफ मात्रै दिने जनजीवन सहज नहुने अवस्थाले जनता वाक्क छन् ।

२०७४ को निर्वाचनपछि प्रदेशसभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा गरेर मुगुले ५ जना सांसद पायो । जिल्लाले इतिहसमै पहिलो पटक पाँच वर्षभित्र पाँच पाँच जना सांसद पाएपछि विकासको मुल फुट्ने आशामा मतदाता थिए । तर नेताले कार्यकर्तामुखी विकास योजना मात्र ल्याउने मतदाताको आरोप छ ।

चुनावका समय सबैजसो दलले शिक्षा,स्वास्थ्य ,खानेपानी लगायत विकासका एजेण्डालाई प्राथमिकतामा राखेका छन् । तर हरेक निर्वाचनमा घोषणा गरिएका योजना पुरा नहुँदा जिल्लाको अवस्था उस्तै छ ।

चुनावका बेला गाउँ गाउँमा देखिने नेता अर्को चुनावसम्म गाउँ नफर्किने प्रवृत्तिको पनि मतदाताले विरोध गरेका छन् । जनतामा देखिएको निराशालाई विकासले आशामा परिवर्तन गर्न सकिए मात्रै जिल्लाको विकासले गति लिन सक्छ कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्