Main News

काठमाडौं-५: १४ स्वतन्त्रसहित ३० उम्मेदवारबीच रोचक प्रतिस्पर्धा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक १९ गते २०:२९
काठमाडौं-५: १४ स्वतन्त्रसहित ३० उम्मेदवारबीच रोचक प्रतिस्पर्धा (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०७९ काठमाडौं । काठमाडौं ५ मा १४ जना स्वतन्त्रसहित ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रदाँ यहाँको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।

यो निर्वाचन क्षेत्रमा २०५६ र २०७४ सालको निर्वाचनमा एमालेबाट ईश्वर पोखरेल निर्वाचित हुँदा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट नरहरि आचार्य निर्वाचित हुनुभएको थियो ।

आगामी निर्वाचनका लागि काठमाडौं–५ मा एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेको ईश्वर पोखरेल र कांग्रेस नेता प्रदीप पौडेलबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

काठमाडौं-५ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर २ देखि ५, बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ देखि ७ र टोखा नगरपालिकाको वडा नम्बर २ देखि ७ सम्मको क्षेत्र पर्छ ।

गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेले १९ हजार २ सय २९, काँग्रेसले १४ हजार ५ सय ३२, राप्रपाले २ हजार ७ सय ३९, नेकपा एकीकृत समाजवादीले १ हजार ५ सय ५३ र माओवादी केन्द्रले १ हजार १ सय ३९ मत पाएका थिए। सत्ता ठबन्धनका सबै दलको मत जोड्दा पनि एमाले बलियो रहेकाले आफूले जित्ने एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका ईश्वर पोखरेलको दाबी छ ।

यो क्षेत्रमा काँग्रेसमा प्रवक्तासमेत रहेका डा।प्रकाशशरण महतको एकल नाम सिफारीस भए पनि उहाँले अनिच्छा देखाएपछि नेविसंघका पूर्व अध्यक्षसमेत रहेका प्रदीप पौडेल उम्मेदवार बन्नुभएको थियो । उहाँलाई पाँच दलीय सत्ता गठबन्धनको साथ छ । आफू युवा उम्मेदवार भएको र गठबन्धनले साथ दिएकाले नतिजा आफ्नो पक्षमा आउने उहाँको दाबी छ ।

दलका उम्मेदवारसँगै काठमाडौं-५ मा १४ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौंमा स्वतन्त्रको विजयीलाई आधार बनाएर प्रतिनिधिसभामा पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको उभार आएको छ ।

यो क्षेत्रमा १४ स्वतन्त्रमध्ये रञ्जु दर्शनालाई सशक्त उम्मेदवारका रुपमा हेरिएको छ । रञ्जु २०७४ को स्थानीय तह निर्वाचनाम काठमाडौंको मेयरमा २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो बन्नुभएको थियो । पछिल्लो समय आम मतदाताले राजनीतिक पार्टीको विकल्प खोज्न थालेका आफ्नो विजयी सुनिश्चित रहेको उहाँको दाबी छ ।

आम मतदाताको प्रतिक्रिया भने मिश्रित छ । यहाँका स्थानीय पार्टी वा स्वतन्त्र भनेर छुट्याउने भन्दा उम्मेदवारका योजनालाइ आधार बनाएर मतदान गर्ने बताउँछन्।

उम्मेदवारले दावी गरे जस्तो जित्न सजिलो भने देखिँदैन । दलका उम्मेदवारलाई स्वतन्त्रको उपस्थितिले ठूलो चुनौति दिने देखिन्छ । दर्जन बढी स्वतन्त्र एकै ठाउँबाट प्रतिस्पर्धामा उत्रिएकाले उनीहरुलाई पनि सहज देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *