राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा जसपा (पूर्णपाठसहित)

हिमालय टिभी
२०७९ कार्तिक १९ गते १५:११
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा जसपा (पूर्णपाठसहित)

१९ कात्तिक २०७९ काठमाडौं । पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माणको प्रतिबद्धतासहित जनता समाजवादी पार्टी जसपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा आज जसपाले सार्वजनिक गरेको घोषणापत्रमा पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने उल्लेख छ ।

कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ । कार्यकारी राष्टपतिले समावेशी रुपमा सक्षम व्यक्तिको छनोट गरी मन्त्रिपरिषद बनाउने जसपाको प्रतिबद्धता छ ।

कार्यक्षमताको अभाव र खराब आचरण भएको पुष्टि भए सबै तहका सरकारको पदाधिकारीमाथि प्रत्याहवान गर्न वा महाअभियोग लगाउन सकिने जसपाले बताएको छ ।

जनलोकपाल गठन गरी भ्रष्टाचारको अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैङ्गीक विभेदको अन्त्य गरी सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने उसको प्रतिबद्धता छ ।

जसपाले पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ४ लेनको बनाउने र काठमाडौंको रिङरोडलाई ५ वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी ८ लेन बनाउने घोषणा गरेको छ ।

त्यस्तै निर्माणाधीन मध्य पहाडी लोकमार्ग र हुलाकी सडकलाई सम्पूर्ण रुपले निर्माण सम्पन्न गर्ने, पुष्पलाल लोकमार्ग र निर्माणकार्य सुरु भएका उत्तर दक्षिण मार्गहरूको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्ने, भित्री मधेश करिडोरको धरान हेटौंडा लोकमार्गलाई पाल्पाको रामपुरसम्म विस्तार गर्ने, ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली क्षेत्रको मूलबस्तीलाई जोड्ने गरी हिमाली लोकमार्गको सम्भाव्यता अध्ययन गर्ने पनि जसपाले बताएको छ ।

एमालेसँग १७ ठाउँमा तालमेल गरेको जसपाले प्रतिनिधसभातर्फ ७९ स्थानमा उम्मेदवार उठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्