राजनीति

दलहरुका शत्रु हरेक चुनावमा फरक, कहिले गठबन्धन VS कांग्रेस, कहिले गठबन्धन VS एमाले (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक १५ गते २१:३८
दलहरुका शत्रु हरेक चुनावमा फरक, कहिले गठबन्धन VS कांग्रेस, कहिले गठबन्धन VS एमाले (भिडियो रिपोर्टसहित)

१५ कात्तिक २०७९ काठमाडौं । भनिन्छ राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैनन् । यो कुरा नेपाली राजनीतिमा लागू नहुने कुरै भएन । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । त्यत्तिबेला यो गठबन्धनले कांग्रेसलाई प्रमुख शत्रु ठान्थ्यो ।

अहिले एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी र माओवादी कांगेस गठबन्धनमा छन । कांग्रेस नेतृत्वको वामलोकतान्त्रिक गठबन्धनको प्रधान शत्रु एमाले बनेको छ ।

दलहरुले आगामी निर्वाचनका लागि आआफ्ना दलका मूल्य मान्यता र दृष्टिकोणसहितका घोषणापत्र जारी गरिसकेका छन् । प्रमुख राजनीतिक दल मध्ये सबैभन्दा पछि नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र मंगलबार जारी गर्यो ।

एमालेले घोषणापत्रमा माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतालाई तत्कालीन नेकपामा रहेका अवसरवादी, अराजक, अपवित्र पात्रका रुपमा चित्रण गरिएको छ । अर्थात २०७४ सालको निर्वाचनमा एउटै पार्टीमा रहेका एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताप्रति घोषणापत्रमा तिखो रुपमा प्रहार गरिएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले सोमवार घोषणा पत्र जारी गरेर नेकपा एमाले र विशेषगरी त्यसको नेतृत्व गरिरहेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरिएको । २०७४ सालको निर्वाचनमा चुनावी तालमेल गरेको माओवादीको घनिष्ठ मित्र नेकपा एमाले थियो ।

माओवादी र एमाले दुवैको वर्ग शत्रु नेपाली कांग्रेस थियो । तर अहिले माओवादीले जारी गरेको घोषणापत्रमा नेकपा एमाले मुख्य शत्रु हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कार्यलाई असंवैधानिक र प्रतिगामी कदम भनेको माओवादीले अहिले पनि प्रतिगमनको खतरा रहेको जनाएको छ ।

घुमाउरो ढंगले नेकपा एमाले र उसँग चुनावी तालमेल गरेका दललाई माओवादीले प्रतिगमनकारी भनेको छ । ठिक उल्टो नेपाली कांग्रेससहित गठबन्धनमा आवद्ध दलहरुलाई आफ्ना परम मित्र रहेको माओवादीको ठहर छ । त्यसैले आफ्ना लागि मात्रै नभएर माओवादीले गठबन्धनको नाममा मत मागेको छ ।

त्यस्तै एकीकृत समाजवादीले पनि माओवादीसँगसँगै एकै दिन घोषणापत्र जारी गर्यो । कुनै दिन एउटै पार्टीमा रहेका र दशकौंसम्म सँगै काम गरेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानशत्रुका रुपमा चित्रित गरेको छ ।

नेपाली कांग्रेसले पनि बामपन्थी दललाई प्रधान सत्रु मान्थ्यो । यो पटक माओवादी केन्द्र र एकीकृत समाजवादी बामपन्थी दलहरु सहयात्री हुँदा नेकपा एमाले मुख्य प्रतिस्पर्धीको रुपमा रहेको छ ।

कांग्रेसले पनि आफ्नो घोषणापत्रमा तत्कालीन सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओलीले कम्युनिष्ट शासन व्यवस्थामा जस्तो सर्वसत्तावाद र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएको छ ।

संविधान नै असफल हुने परिस्थिति बनेको अवस्थामा आफू नेतृत्वमा वर्तमान पाँच दलीय गठबन्धन बनेको कांग्रेसको दाबी छ । यसरी अहिलेको निर्वाचनमा एकातिर कांग्रेस नेतृत्वको बामलोकतान्त्रिक गठबन्धन उभिएको छ भने अर्को तर्फ एमाले नेतृत्वको मोर्चा छ । यी दुबै गठबन्धनले एक अर्कोलाई शत्रु ठानेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्