राजनीति

सुदूरपश्चिममा सत्ता गठबन्धनमा प्रमुख तीन दलकै नेताको दाबी, कांग्रेसबाटै चार जना आकांक्षी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ६ गते २१:१२
सुदूरपश्चिममा सत्ता गठबन्धनमा प्रमुख तीन दलकै नेताको दाबी, कांग्रेसबाटै चार जना आकांक्षी (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७९ काठमाडौं । हिमाल, पहाड र तराईका जिल्लाहरु समेटिएको सुदूरपश्चिम प्रदेशमा पनि चुनावी रौनक बढेको छ । यो प्रदेशमा पनि प्रमुख तीन दलका उम्मेदवारले आफूलाई मुख्यमन्त्रीको रुपमा अघि सारेर मत मागिरहेका छन ।

सुदूपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले आफूलाई मुख्यमन्त्रीको आकांक्षीको रुपमा अघि सारेका छन । ५३ सिट रहेको प्रदेश सभामा सरकार गठनका लागि २७ सांसद चाहिन्छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेले २५, नेकपा माओवादी केन्द्रले १४, नेपाली कांग्रेसले १२ र जनता समाजवादी पार्टीले २ सिट जितेका थिए । एमाले विभाजनपछि प्रदेशको समीकरणमा फेरबदल आयो तर, मुख्यमन्त्री एकै व्यक्ति रहे । सुरूमा तत्कालीन नेकपाकातर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नुभयो । नेकपा भंग भएपछि कांग्रेस, एकीकृत समाजवादीको सहयोगमा माओवादी केन्द्रका भट्ट नै मुख्यमन्त्री कायम रहनुभयो । अर्थात भट्टले पूरा कार्यकाल सरकार चलाउन पाउनुभयो ।

को को छन त प्रदेश मुख्यमन्त्रीको आकांक्षी ?

कांग्रेसबाट ४ जनाको दाबी

रणबहादुर रावल
प्रदेशसभाको पहिलो कार्यकालमै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रहेका रणबहादुर रावल मुख्यमन्त्रीको दौडमा हुनुहुन्थ्यो । नेकपा एमाले विभाजन भएर पाँच दलीय गठबन्धन बन्दा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको साथ लिएर मुख्यमन्त्रीका रुपमा रावललाई अघि सार्ने तयारी थियो । तर, सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वले अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नै पूरा कार्यकाल काम गर्न दिने सहमति गरेपछि रावलको इच्छा पूरा हुन सकेन ।

मुख्यमन्त्रीका दाबेदार रावल भट्ट नेतृत्वकै सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री हुनुभयो । कैलाली क्षेत्र नम्बर १ को प्रदेशसभा (२) बाट उम्मेदवार बनेका रावल चुनाव जितेर मुख्यमन्त्री बन्ने दौडमा हुनुहुन्छ । २०७४ सालको चुनावमा माओवादीका नेपबहादुर चौधरीलाई पराजित गरेका रावल अहिले माओवादीकै साथ लिएर चुनावी मैदानमा उत्रिनु भएको छ । रावललाई गठबन्धनकै अर्को दल एकीकृत समाजवादीको पनि समर्थन छ ।

बहादुरसिंह थापा
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) उम्मेदवार बहादुरसिंह थापा पनि कांग्रेसबाटै मुख्यमन्त्रीको आकांक्षी हुनुहुन्छ । संविधानसभा सदस्य समेत रहेका थापा कांग्रेसभित्र नेता एनपी साउद निकट मानिनुहुन्छ । थापा कञ्चनपुरका जिल्ला सभापति पनि हुनुहुन्छ ।

दिवानसिंह विष्ट
कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) का उम्मेदवार दिवानसिंह विष्ट पनि कांग्रेसबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ ।

गोविन्दराज बोहरा
सुदूरपश्चिमका सामाजिक विकास मन्त्री समेत रहेका डडेल्धुराको प्रदेशसभा (२) का उम्मेदवार गोविन्दराज बोहरा पनि मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिनुभएको छ ।

देउवासँग चुनाव लड्दै आएका खगराजको मुख्यमन्त्रीमा दाबी
सत्तारुढ गठबन्धनमै आवद्ध माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट शीर्ष नेतासँग मुख्यमन्त्री बन्ने सहमति गरेर नै प्रदेशसभामा उम्मेदवार दाबी गर्नुहुन्छ ।

२०६४ सालदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्दै आएका खगराज यो पटक प्रदेश सभामा उम्मेदवार हुनुभएको हो । कांग्रेस र एकीकृत समाजवादीको साथ लिएर डडेल्धुराको प्रदेशसभा (२) मा उम्मेदवारी दिएका भट्टले सहजै चुनाव जित्ने र सर्वसम्मत मुख्यमन्त्री हुने माओवादीको दाबी छ ।

एकीकृत समाजवादीका सोडारीको पनि दाबी
सत्तारुढ गठबन्धनकै अर्को घटक एकीकृत समाजवादी पार्टीका दीर्घबहादुर सोडारी पनि मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ । अहिले सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रहेका सोडारीले सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेपछि मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो ।

तर, कांग्रेसका रावल जस्तै शीर्ष नेताले नचाहेपछि मुख्यमन्त्री बन्ने सोडारीको धोको पूरा भएन । फेरी कैलाली क्षेत्र नम्बर ४ को प्रदेशसभा (२) बाट उम्मेदवार बनेका सोडारी मुख्यमन्त्री दौडमा हुनुहुन्छ । एमालेबाट विभाजन भएर बनेको समाजवादीको बलियो संगठन संरचना नभए पनि गठबन्धनको बलमा चुनाव जितेर प्रदेशको नेतृत्व गर्ने सोडारीको चाहना देखिन्छ ।

एमालेबाट २ जनाको दाबी
राजेन्द्रसिंह रावल र लालबहादुर थापा मुख्य दाबेदार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका प्रदेश सहइन्चार्ज राजेन्द्रसिंह रावल र केन्द्रीय सदस्य लालबहादुर थापा मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ ।

प्रदेशसभामा समानुपातिकतर्फको पहिलो नम्बरमा परेका रावल अन्य उम्मेदवार भन्दा सिनियर नेता भएकाले पार्टीको संसदीय दलको नेता बन्न सक्ने सम्भावना धेरै छ ।

मुख्यमन्त्रीका आकांक्षी एमालेका अर्का नेता लालबहादुर थापा बाजुराको प्रदेशसभा (२) बाट उम्मेदवार हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा प्रतिनिसभा सदस्यमा विजयी भएका थापा मुख्यमन्त्री बन्ने आकांक्षा राखेरै प्रदेशसभाको उम्मेदवार हुनुभएको हो ।

प्रमुख दलका नेताहरुले आफूलाई मुख्यमन्त्रीको दाबेदार भने पनि कुनै पनि पार्टीले औपचारिक निर्णय भने गरिसकेका छैनन । अघिल्लो पटक प्रतिनिधि सभा चुनाव लडेका नेता प्रदेश सभाका उम्मेदवार बनेकाले मुख्यमन्त्रीको आकांक्षीको रुपमा हेरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्